
काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटीटीभी सेवा अब सेट–टप बक्सबिनै प्रयोग गर्न सकिने सुविधा ल्याएको छ। कम्पनीले बिहीबार (असोज १५) देखि एन्ड्रोइड टीभीका लागि भर्चुअल सेट–टप बक्स सेवा सञ्चालनमा ल्याएको हो।
नयाँ सुविधामार्फत एन्ड्रोइडमा आधारित स्मार्ट टीभी प्रयोगकर्ताले भौतिक सेट–टप बक्स आवश्यक नपरी एनटीटीभी सेवा प्रयोग गर्न सक्नेछन्। यसका लागि ग्राहकले आफ्नो स्मार्ट टीभीको गुगल प्लेस्टोरमा गई ‘स्मार्ट एनटीटीभी’ सर्च गरेर एप इन्स्टल गर्नुपर्नेछ।
कम्पनीका अनुसार हाल यो सुविधा एन्ड्रोइड टीभीमा मात्र उपलब्ध गराइएको छ। निकट भविष्यमा सबै प्रकारका स्मार्ट टीभीमा प्रयोग गर्न सकिने भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याउने तयारीसमेत भइरहेको छ।
नयाँ प्याकेज लिने ग्राहकले भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिएमा एक हजार रुपैयाँ छुट पाउने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ।
नेपाल टेलिकमले एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले भर्चुअल सेट–टप बक्ससहितको एनटीटीभी सेवा प्रयोग गर्न विभिन्न प्याकेजसमेत उपलब्ध गराएको छ। वार्षिक तथा दुई वर्षे प्याकेजमा मोबाइल डेटा सुविधासमेत समावेश गरिएको छ।


