
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ९०औं वार्षिकोत्सव समारोह अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आथित्यतामा सम्पन्न भएको छ । वि.सं. १९९४ साल कार्तिक ३० गते स्थापना भई सञ्चालनमा आएको नेपाल बैंक लिमिटेड २०८३ कार्तिक ३० गते आफ्नो ८९ वर्ष पूरा गरी ९०औं वर्षमा प्रवेश गरेको हो ।
सो अवसरमा बैंकको प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्रीमान् दीर्घ बहादुर रावलज्युको विशिष्ट अथितिको रुपमा उपस्थिति रहेको थियो । सो समारोहको अध्यक्षता बैंकका सञ्चालक समितिका सदस्य बद्री खनालले गरेका थिए । अर्थमन्त्री डा.वाग्लेले बैंकको डिजिटल कर्जा Fone Loan, Buy Now Pay Later (BNPL) क्रेडिटकार्ड तथा Online Loan Application Portal को शुभारम्भ गर्दै उत्पादन र उद्यमशीलता प्रवर्द्धन गर्न उत्पादनशील क्षेत्रहरु कृषि, जलविद्युत, पर्यटन, सूचनाप्रविधि, निर्यातमूलक उद्योग तथा साना र मझौला उद्योगमा कर्जा लगानी विस्तार गरी उत्पादन र उद्यमशीलता प्रवद्धन गर्न बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । साथै उनले संस्थागत सुशासन र वित्तीय अनुशासन मार्फत जनविश्वास कायम गर्दै व्यवसायीक कार्यसम्पादनमा उच्च मापदण्ड कायम गर्न, डिजिटल रुपान्तरण र वित्तीय समावेशीकरण गर्दै डिजिटल बैंकिङ र साईवर सुरक्षा तथा तथ्याङ्क संरक्षणमा विशेष ध्यान दिन, ग्रामिण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न बैंकले थप पहल गर्न समेत निर्देशन दिए ।
देशभर २३० वटा शाखा २५० वटा एटिएमका साथै ५७ वटा एक्सटेन्सन काउन्टरको सञ्जाल मार्फत २९ लाख भन्दा बढी ग्राहकलाई वित्तीय सेवा पुयाईरहेको यस बैंकले अन्तरराष्ट्रिय स्तरको बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दैआएको छ । प्रविधिमैत्री सेवा सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप बैंकका करीब १६ लाख ग्राहक डिजिटल सेवा सुविधाबाट लाभान्वित भएका छन् । समयानुकुल बैंकले छिटोछरितो, गुणस्तरीय तथा गुनासो रहित ग्राहक सेवामा जोड दिई युवा तथा दक्ष जनशक्ति मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ।
बैंकको उक्त वार्षिकोत्सव कार्यक्रममा २५ वर्ष अटुट सेवा गर्ने ३ जना तथा २० वर्ष अटुट सेवा गर्ने १० जना कर्मचारीलाई दीर्घसेवा कदर स्वरुप पदक तथा प्रशंसापत्र प्रदान गर्दै प्रादेशिक तथा भौगोलिक वर्गगत रुपमा उत्कृष्ट उपलब्धी हासिल गर्ने १२ शाखाहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
त्यसैगरी प्राकृतिक विपत्तीको प्रतिकुल अवस्थामा पनि बैकिङ सेवा सुचारुरुपले सञ्चालन गरेका त्रिशुली र धुन्चे शाखालाई सम्मानित गरिएको तथा स्याफ्रुबेशी एक्सटेन्सन काउन्टर (धुन्चे शाखा) मा विषम परिस्थितिमा पनि बैंकको सम्पत्तिको साहसपूर्वक संरक्षण गर्नु हुने कर्मचारी तथा सुरक्षकर्मीलाई कदरपत्र प्रदान गरिएको थियो । सभाका अध्यक्षले बैंकमा कार्यरत कर्मचारीलाई आगामी दिनमा उच्च मनोवल, जिम्मेवार तथा इमान्दारीका साथ कार्यक्षेत्रमा लाग्न प्रेरित गर्दै कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद दिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले सम्बोधन गर्दै कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए ।


