Admission Open

ad place

नेपाल टेलिकमका सिमकार्ड अब हुलाकमार्फत घरमै उपलब्ध हुने

काठमाडौं, असार १८ : नेपाल टेलिकमका सिमकार्ड तथा कम्पनीका अन्य आवश्यक सामग्री अब हुलाक सेवामार्फत सेवाग्राहीको घरदैलोमै उपलब्ध गराइने भएको छ। यसका लागि नेपाल टेलिकम र हुलाक सेवा विभागबीच बुधबार सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको हो।

सम्झौताअनुसार आगामी साउन १ गतेदेखि हुलाक सेवा विभागमार्फत नेपाल टेलिकमका सिमकार्ड, सेवा सञ्चालनका लागि आवश्यक कागजात, पत्राचार तथा दूरसञ्चार सेवासँग सम्बन्धित अन्य सामग्री देशभरका सेवाग्राहीसम्म सुरक्षित रूपमा पुर्‍याइनेछ। यस सेवाबाट सेवाग्राहीले टेलिकम कार्यालयमा उपस्थित नभई आफ्नै घरबाट आवश्यक सामग्री प्राप्त गर्न सक्नेछन्।

सम्झौतापत्रमा नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि आयोजित कार्यक्रममा निमित्त प्रबन्ध निर्देशक डंगोलले सेवाग्राहीलाई सहज, छिटो र पहुँचयुक्त सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले विभिन्न सुधारका कार्यक्रम अघि बढाइरहेको बताइन्। हुलाक सेवा विभागसँगको सहकार्यले सेवाग्राहीलाई थप सुविधा पुग्ने र सेवा प्रवाह अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरिन्।

हुलाक सेवा विभागका महानिर्देशक पंगेनीले सरकारको घरदैलोमै सेवा पुर्‍याउने लक्ष्यलाई कार्यान्वयन गर्न विभागले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै नेपाल टेलिकमसँगको सहकार्य त्यसैको महत्वपूर्ण कडी भएको बताइन्। आगामी दिनमा दुवै संस्थाबीचको सहकार्य अझ विस्तार हुँदै सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

सरकार स्वामित्वका दुई प्रमुख संस्थाबीच भएको यस सहकार्यले हुलाक सेवाको देशव्यापी सञ्जालको उपयोग गर्दै नेपाल टेलिकमको सेवा वितरणलाई अझ प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...