
काठमाडौं : कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रन बनायो ।
टोलीका लागि दीपेन्द्रले सर्वाधिक ५२ रन बनाए । उनले ५१ बलमा तीन चौका र एक छक्का प्रहार गरे । जारी सिजनमा उनको यो तेस्रो अर्धशतक हो ।
सुदूरपश्चिमले पावर प्लेमै तीन विकेट गुमाउँदै २० रन मात्र जोडेको थियो । त्यसपछि दीपेन्द्रले इशान पाण्डेसँग चौथो विकेटका लागि ६४ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरे । इशानले २७ रन बनाए ।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीका रुबेन ट्रम्पेलमन र शेर मल्लले समान दुई विकेट लिए । किशोर महतो र अभिषेक गौतमले एक–एक विकेट हात पारे ।


