Admission Open

ad place

बलाहाको पूर्व क्षेत्रमा उदाएको इष्ट प्वाईन्ट

दीपक निरौला, इनरुवा : सुनसरी जिल्लाको इनरुवास्थित बलाहा शैक्षिक क्षेत्रमा निक्कै नै मलिलो छ भन्दा सायदै अत्युक्ति हुन्छ । यो क्षेत्रको शैक्षिक उन्नयनमा २०४९ सालमा स्थापित  ‘इष्ट प्वाईन्ट’लाई उदाहरण बनाउँदै यसो भन्न सकिन्छ कि यो क्षेत्रमा शिक्षाले भीमकाय मरुभूमिलाई पनि हरियालीमा सहजै परिणत गर्छ र यस भनाइलाई पूर्णता दिन पनि  ‘इष्ट प्वाईन्ट’ को स्थापना गर्भलाई उठाउनै पर्ने हुन्छ । त्यति मात्र होईन कि  ‘इष्ट प्वाईन्ट’ को जन्म र यसले शिक्षामा पु¥याएको योगदानको बेलिबिस्तार लाउनुपूर्व भण्डै एक सताब्दी अगाडि नफर्किएसम्म पनि कथा अपुरो हुन सक्छ । त्यसैले  ‘इष्ट प्वाईन्ट’ को जन्म त्यस अगाडिको कहानीलाई पनि म यसरी जोड्दै छु ।
१९८८ सालमा  पूर्वी जिल्ला ताप्लेजुङबाट एक लिम्बु परिवार इनरुवाको घनघोर जङ्गलमा वासस्थानको लागि आइपुगेका  थिए । फिफराज लिम्बु  जसले इनरुवा क्षेत्रको घनाजङ्गल (झोडा)  फाँड्नमा ताप्लेजुङबाटै आएका श्रीप्रसाद भण्डारी,  अन्यत्रबाट आएका रामप्रसाद भट्टराई, भक्तबहादुर श्रेष्ठ लगायत अन्य व्यक्तिहरूको सहयोगमा  झोडा फाँडेर बस्तीमा परिणत गराएका थिए । त्यो बेला फिफराजका छोरा देवेन्द्र १८ वर्षे लक्का जवान थिए । देवेन्द्र लिम्बु पनि बाघभालु, हात्ती, सर्प र औलोको परवाह नगरी आफ्नी श्रीमती र छोराछोरीको साथमा पिताको पदचाप पछ्याउँदै बलाहा आए । जङ्गलमा राज गरेर बसेको यी सवै जन्तुलाई हराउँदै यो परिवार अहिलेसम्म पनि यही बसिरहेको छ । मृदुभाषी स्वरका धनी र सबैलाई एकै नजरले हेर्ने देवेन्द्र लिम्बु साह्रैनै संस्कारी थिए । उनको त्यो वंशाणुगत गुण उनका सन्तान दरसन्तानमा अहिले पनि कायमै छ ।
मधेशको उखरमाउलो गर्मी र औलोसँग संघर्ष गर्दै ६ वटी छोरी र २ भाइ छोरालाई बचाउन सफल देवेन्द्र लिम्बुलाई भने २०६३ सालमा बिग्रिएका दुवै मृगौलाले साथ नदिएका कारण पृथ्वीलोकमा बस्न दिएन ।
देवेन्द्रका जेठा छोरा प्रेम लिम्बु बहुगुणले युक्त व्यक्तिमा पर्दछन् । पिताको निर्देशन अनुसार २०४९ सालमा घर नजिकै ‘इष्ट प्वाईन्ट’ नाम जुराएर एउटा अंग्रेजी माध्यमको निजी विद्यालय सञ्चालनमा ल्याए । अंग्रेजीमा अब्बल प्रेमले गुणस्तरीय अंग्रेजी शिक्षाको सुरुवात गर्नु सुखद् थियो । थोरै विद्यार्थी तर गुणस्तरीय शिक्षाले गर्दा विस्तारै विद्यार्थी र अभिभावक आकर्षित हुँदै गए । निरन्तर विद्यार्थीको संख्या थपिँदै गयो ।
आफूले सिर्जना गरेर, बढाएर उत्पादनमूलक हुन थालेपछि संस्थापक प्रेम लिम्बु स्वदेशी भूमिको माया-मोह त्यागेर वेलायतको यात्रामा निस्किए । लाहुरे बन्ने पुख्र्यौली पेशामा भने गएका होइनन् उनी । (व्रिटिस, सिंगापुर आर्मीमा राई, लिम्बु, गुरुङ, तामाङ युवाहरू जागिर खान जाने गरेका छन् । त्यसकारण बोलीचालीको भाषामा तिनलाई ‘पल्टनको लाहुरे’ भन्ने चलन छ ।)
उनले उच्च शिक्षा अध्ययनको लागि वेलायतको यात्रा रोजेका थिए । उच्च शिक्षाको लक्ष्य पूरा गरेपछि अहिले पनि उनी त्यहाँको उच्चस्तरीय जागिरमा आफ्ना परिवारका साथ उतै रमाएर बसेका छन् ।  ‘इष्ट प्वाईन्ट’ का बारेमा संस्थापक प्रेम लिम्बु भन्छन्, ”आफूले जन्माएको स्कुलप्रतिको अगाध स्नेह अहिले पनि त्यतिकै ताजा छ ।”
‘विद्यार्थी उल्लेख्य संख्यामा भएन भने बरु निःशुल्क  पढाउनु तर स्कुलचाहिं कहिल्यै बन्द नगर्नु’ भन्ने उनको शैक्षिक सुधारको सकारात्मक सोचलाई सलाम गर्नै पर्छ ।
प्रेमका भाइ भूपाल लिम्बु पनि क्यानडामा बसेका छन् ।
यता उनी विदेसिए पनि स्कुलको जिम्मा कान्छी बहिनी मेरी लिम्बुलाई सुम्पिएका थिए । मेरीले निक्कै लामो समयसम्म कुशलतापूर्वक विद्यालय सञ्चालन गरिन् । यो विद्यालय गुणस्तरीय विद्यार्थी उत्पादन गर्ने थलोको रूपमा चिनिन थाल्यो । यहाँबाट उत्पादित जनशक्ति अहिले देश विदेशमा उच्च ओहोदामा पुग्न सफल भएका छन् ।
परिवर्तनशिल समयले एकै ठाउँमा कसैलाई पनि टिक्न नदिँदो रहेछ । लामै समय स्कूल सञ्चालन गरेर दक्षता र अनुभव हासिल गरेकी मेरीले पनि नयाँ वैवाहिक जीवनको सुरुवात गरेर अन्यत्रै गइन् । पारिवारिक सदस्यमै पुस्ता हस्तान्तरण हुँदै आएको यस इष्ट प्वाइन्ट स्कूलमा प्रेमका भाञ्जीहरू मनु र इन्दिरा सुब्बाले जिम्मेवारी बहन गरिरहेका छन्  । हेर्दा सामान्य लाग्ने यी दिदी बहिनीहरू साह्रै मेहेनती र प्रतिभाशाली छन् । कर्तव्यनिष्ठ र लगनशिल शिक्षक, शिक्षिकाको समूह  छनौट गरेर राखेका छन् । अनुशासनको कसी र गुणस्तरीय शिक्षामा मरिहत्ते गरेर लागि परेका छन् ।
झण्डै ४ सयको हाराहारीमा विद्यार्थी रहेको  ‘इष्ट प्वाईन्ट’ मा वैज्ञानिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला , सुविधासम्पन्न स्कुल बस र प्रकृतिमैत्रीपूर्ण वातावरण छ । यही वातावरणमा विद्यार्थीहरुले शिक्षाको तीर्खा मेटिरहेका छन् ।
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...