Admission Open

ad place

”चौतारीको बरै ढलेछ, चौतारीको पीपल ढलेछ” सखुवागाछीमा सालिकसँगै बढ्दै सखुवाका रूख

वन जंगल विनास गरेर क्रंकिटका घर तथा नक्कली सालिक निर्माणले तत्काल सुन्दरता देखिए पनि कालान्तरमा यसको असर धेरै नै गम्भीर हुन जाने निश्चित प्रायः छ

दीपक निरौला/सुनसरी, १० मंसिर : आजकाल पुरानो नामको पहिचानका लागि जतासुकै कंक्रिटका स्थान विशेष चिन्ह राख्ने चलन छ्यापछ्याप्ती बढेको छ । कतै इनार, कतै बेल, कतै सखुवा, कतै पिपलको पात, कतै, कुसुमको रूख, बरको रूख, कतै विरालो, गाईबाच्छा, कुखुराको भाले, तोङ्वाको भाँडो लगायत चोकै पिच्छे सालिक भनौ वा प्रतिमा भेटिन्छ । स्थानीय सरकारले पहिचानका नाममा लाखौं रूपैंया खर्चेर सिमेन्ट , बालुवा र गिट्टीबाट बग्रेल्ती सालिक निर्माणमा होडवाजी चलाएको छ ।

सालिक निर्माणमा सुनसरीको इनरुवा पनि अग्रपंक्तिमै रहेको छ । यसै क्रममा वडा नं. ३ सखुवागाछीमा कंक्रिटबाट निर्मित ठुटे सखुवाको रूखमा कालोमुख र सेतो भुत्ला भएको ढेडु, लोखर्के र एक जोडी काठखोपुवा चराको उभिएको सालिक छ । त्यसको सगै मदन भण्डारीको सालिक पनि एकै ठाउँमा छ । केही फिट नजिकै रहेको महेन्द्र राजमार्गमै ठुटे सखुवाको रूखमा एक जोडी डाँफे बसिरहेको देखिन्छ । सखुवागाछी चौकको चौवाटोमा भने सखुवा, मदन भण्डारीको सालिकसंगै २ वटा ओरिजिनल सखुवाका विरुवा नै रोपिएको छ । करिव ७ वर्ष अगाडि रामधुनीको जंगलबाट स्थानीय युवाहरूको समूहले १ जोर विरुवा रोपेर हुर्काइरहेका छन् । पहिले यो क्षेत्रमा सखुवाका बडेमानका रुखैरुख भएकोले यसक्षेत्रको नाम सखुवागाछी रहेको स्थानीय व्यापारी चेतराज पोखरेल बताउँछन् । तर, अहिले यहाँ सखुवाका ठुटा समेत देख्न पाइदैन ।

क्रंकिटको जमानामा यस्तो बुद्धि कहाँबाट आयो त ? भनेर प्रश्नगर्दा स्थानीय युवा रमेश तिम्सिना भन्छन् ‘आधुनिकताको नाममा वातावरण विनासको दर तीव्र भइरहेको छ । क्रंटिटको होडबाजीलाई अन्त्य गर्न नेपालमा मात्र नभएर विश्वभरी नै सन्देश दिनकालागि यो हाम्रो अभियान हो ।’ वास्तवमै वन जंगल विनास गरेर क्रंकिटका घर तथा नक्कली सालिक निर्माणले तत्काल सुन्दरता देखिए पनि कालान्तरमा यसको असर धेरै नै गम्भीर हुन जाने निश्चित प्रायः छ ।

सखुवागाछी कै अर्का स्थानीय युवा भोजराज खनाल भन्छन् ‘विरुवा रोप्दा वर्षेनी बढ्दै जान्छ चौतारीको वरीपरी सित्तल ताप्न बटुवा आउँछन् । तर, क्रंक्रिटबाट शालिक निर्माणगर्दा ती वातावरणमैत्री हुनुको सट्टा हानिकारक हुन्छन् । प्राणी वनस्पतीबीच घनिष्ठता भएका कारण हामी ओरिजिनल रूख रोप्ने अभियानमा अगाडि बढेका हौं ।’ राजमार्ग विस्तारका नाममा ठूलाठूला वरपीपल, सिमल, चाँप, सिसौका रूख काटेर उजाड पारिदै छ । सयौं वर्ष पुराना प्राकृतिक सम्पदा समाप्त पारेर सितल बस्ने ठाँउ, बासबस्ने ठाँउको विनास हामी आधुनिक मानवले गरिरहेका छौं । ‘वातावरण प्रदुषणका साथै मान्छेको विचारको प्रदुषणबाट मुक्त गर्नको लागि पनि प्रकृतिमैत्री हुन रूख विरुवा रोप्ने अभियान सहर बजारमा आवश्यक रहेकोले थालनी गरेका हौं ।’ अर्का स्थानीय व्यक्ति भूपाल तिम्सिनाले बताए ।

‘चौतारीको बरै ढलेछ,
चौतारीको पीपल ढलेछ,
बाटो हिंड्ने वटुवाको सित्तल ढलेछ …
दशकौं अगाडि रचना गरिएको क्षेत्रप्रताप अधिकारीको शब्द र शिशिर योगीको स्वरमा गाईएको गीत वास्तवमै अहिलेको यथार्थसँग ठ्याक्कै मेल खानु संयोग मात्रै होईन, वास्तवमै गीतसंगीत वा साहित्य भनेका भूत र वर्तमानको स्वैर कल्पना मात्रै होईनन् यी त भविश्यको मार्गदर्शक पनि हुन भन्दा सायदै अत्युक्ति होला ।

हामीले यसैगरी प्रकृति मासेर कृत्रिमता जोड्दै र थुपार्दै गयौँ भने हामी कहाँ पुग्छौ ? हाम्रा भावी सन्ततीले कृत्रिम पहाड त चढ्न सक्लान तर प्रकृतिको मनोरम बगैँचा पाउलान कि नपाउलान त्यो भविष्यलेनै निर्धारण गर्ला ।

हामी बेलैमा सचेत बन्नु पर्छ कि ??

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...