Admission Open

हाम्रो नेतृत्व आएपछि इनरुवा नगरक्षेत्रको मुहार फेरिनेमा दुईमत छैन : सरोज पोखरेल

[ संघीय राजनीतिलाई बिर्सेर स्थानीय तहमा रमाउँदै पोखरेल ]

इनरुवा नगरक्षेत्र सुगम क्षेत्र भएपनि विकासको हिसावले दुर्गम जतिकै छ । न यहाँ गुणस्तरीय स्वास्थ्य छ । न शिक्षा छ । यी दुवैको लागि हामीले कि त विराटनगर कि त इटहरी जानुपर्ने बाध्यात्मक अवस्था छ । यो फोहोरी अवस्था आउनुमा यहाँको सत्तामा पुग्ने राजनैतिक खेलाडी कारण शिक्षा स्वास्थ्य जस्तो पवित्र क्षेत्रका मैदानमा फोहोर थुप्रिएको हो । यसलाई सफाई गर्न कसैले उत्सुकता तथा तत्परता देखाएनन् । निर्वाचित जनप्रतिनिधिहरू भिजन र मिसन नभएका छन् । यिनले अबको ५ वर्ष त्यतिकै विताउँछन् । म मिसन ०८४ लाई ‘टार्गेट’ गरेर अगाडि बढिरहेको छु ।


दीपक निरौला/सुनसरी : सुनसरीको इनरुवाका वासिन्दा हुन सरोज पोखरेल । करिव २ दशक जति इनरुवा छोडेर ‘करियर’ बनाउन काठमाडौँ पलायन भए । उतै व्यवसाय र राजनीति दुवैमा एकैसाथ रमे । एमालेको छत्रछाँयामा रहेर हालसम्म पनि नेकपा एमालेको सक्रिय राजनीतिमै छन् । केन्द्रका नेतासँग राम्रै उठबस भएका कारण २०७९ को स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेको तर्फबाट इनरुवा नगरपालिकाको मेयर पदमा उमेद्वार बनेका थिए । कयौं रैथाने नेताहरूलाई पछि पार्दै टिकट पाउनु ठूलो उपलब्धी हो, उनका लागि । ‘टुरिष्ट’ नेताको आरोप खेपेका उनले कांग्रेसका जिल्ला सभापति केदार भण्डारीसँग झिनो मतान्तरले मात्र पराजित भए ।

निर्वाचनको मत परिणाम आइसकेपछिको दृष्य रोमाञ्चकारी थियो । आफू पराजित भएपनि नवनिर्वाचित मेयर भण्डारीलाई जितको शुभकामना दिएर मतगणना स्थलबाट विदा भए । त्यतिमात्र नभएर त्यसको भोलिपल्ट विजय जुलुशको कार्यक्रम राखिएको थियो । उनी मेयरकै घरमा आएर पुनः जीतको शुभकामना दिदैं परिवारसहित फोटो सेसनमा रहनु, विजय जुलुसमा सहभागी हुनु चुनाव हारेका नेताबाट संभव हुँदैन । त्यतिमात्र नभएर नगरपालिकामा पदस्थापनको कार्यक्रममा समेत सहभागी भएर सफल कार्यकालको शुभकामना दिने उनको कार्य साँच्चै उदाहरणीय थियो । सरोज पोखरेलको त्यो राजनैतिक संस्कारलाई हामीले मान्नै पर्छ । उनले पराजयको मानसिकता देखाएनन् । भित्र पीडा भएपनि लुकाएर मज्जाले हाँस्ने कला प्रदर्शन गर्नु असल राजनैतिक संस्कारले भरिपूर्ण भएको मान्नु पर्छ । उक्त समय साँच्चै नै लोभलाग्दो समय थियो । उनको यो राजनैतिक संस्कारलाई हामीले सह्राहना गर्ने कि नगर्ने त ?

‘टुरिष्ट नेता’ को आरोप खेपेका अनि चुनाव हारेको नेता भएपनि उनले इनरुवा क्षेत्रलाई छोडेका छैनन् । अहिले पनि सक्रिय रूपमा आफ्ना राजनैतिक गतिविधिलाई निरन्तरता दिईनै रहेका छन् । हरेक जनताका दुःखसुखमा साथ दिन पुगिहाल्छन् पोखरेल। आज उनै पोखरेलसँग समसामयिक विषयमा नेपालीमाला अनलाईनका वरिष्ठ संवाददाता दीपक निरौलाले गरेको कुराकानीको सार :

अहिले पार्टी परिवर्तनको लहर चलिरहेको छ, तपाईँको मनमा पनि त्यस्तो विचार त पलाएको छैन ?

अहिले वास्तवमै भन्नुपर्दा पुराना पार्टीहरूप्रति जनतामा आक्रोश छ । शासन व्यवस्थाको प्रभावका कारण जनताको आशा निराशामा परिणत भएको कुरा सत्य हो । अब जनताका निराशालाई परिवर्तन गर्नु जरूरी छ । यसतर्फ पार्टीले सोचिसकेको छ । त्यही किसिमको रणनीति हाम्रो पार्टी नेकपा एमालेले तय गरिरहेको छ । केही मान्छेहरू नयाँ कुरा आउँदा बुझ्दैमा सबै भीड त्यतै लागेको हो भनेर बुझ्न मिल्दैन ।

अहिले त  पैसाको बलमा टिकट लिने चलन छ नि । अनि सिधै सांसद भएको भए हुन्थेन ?

राजनीति के का लागि भन्दा आदर्श, निष्ठा र समाजका लागि मैले राजनीति गर्ने सोच राखेर अगाडि बढेको हो । मेरो जन्म सत्येरझोरामा भएपनि कर्मथलो इनरूवा नै हो । जहाँ पुगे पनि आफ्नो थातथलोका लागि केही गरौं भन्ने भावना मेरो मनमा जहिले पनि आइरहन्छ । यहाँ श्रोत साधन तथा आफ्ना ‘आइडियाहरू ’ डेलिभरी गर्न सकिन्छ भनेर आफ्नो ठाँउ रोजेको हो । नीति तथा कार्यक्रमलाई विकशित बनाउने चाहना पनि हो ।

धेरै लोभी-पापी पार्टीमा छिरेका छन् । बुढा पुरानाले पार्टी ओगटी राख्ने अनि पुराना पाटीको नैतिक धरातल ध्वस्त भई रहेको छ यसलाई तपाईहरु जस्तो युवाले कसरी चिर्ने ?

यो तपाईले उठाउनु भएको कुरा वास्तवमै विद्यमान अवस्थाको प्रतिविम्ब हो । अब युवा पुस्तालाई पनि राजनीतिमा सहभागी गराउनु पर्छ भन्ने उदाहरण हाम्रो पार्टी नेकपा एमालेले सुरु गरेको कुरा संघारमा आईरहेको इलामको उप–निर्वाचनमा चयन गरिएको युवाबाट देख्न सक्नुहुन्छ । यो केवल ताजा उदाहरण मात्र हो । अब युवा पङ्क्तिलाई अवसर दिनु पर्छ र ‘सिनियर’ लाई सम्मान दिनु पर्छ । यसो भनिरहँदा सबैलाई पाखा लगाउने, अवसरबाट बञ्चित गराउने भन्ने चाहीँ होइन । उहाँहरूको अनुभवलाई मार्गदर्शन गर्दै अगाडि बढ्नुपर्ने अवस्था चाहीँ अवश्य आएको हो ।

हाल देशमा कुनै युद्ध छैन, कुनै समस्या छैन, शान्त छ तरपनि दैनिक ३ हजारको दरले नेपालीहरू विदेश पलायन भईरहँदा तपाईँजस्तो युवाको मन पोल्दैन ? अब पनि वयोवृद्ध नेताले झरेको कपाल पलायो, सेता आँखी भौं काला भए, २० वर्ष कसैले पनि नचिताउँदा हुन्छ भनेर डुक्रिनुलाई तपाईं के भन्नु हुन्छ ? यो भनाईले उर्जाशिल युवा देश छोडेर भाग, हामीमात्र मोज गर्छौँ भनेको हो भनेर बुझ्दा हुन्छ ?

वास्तवमा अहिले नेपालमा रोजगारीको अवसर छैन । रोजगारी सिर्जना गर्ने काम सरकारको हो । नेपालमा विडम्वना नै भन्नु पर्छ करिव दुईतिहाई बहुमतको सरकारले समयावधि भरी काम गर्न नपाई बाहिरिनु प¥यो । अर्को कुरा प्रशस्त रोजगारी सिर्जना गर्नका लागि उद्योग, कलकारखाना नै चाहिन्छ । तर, नेपाल भारत र चिनको बीचमा चेपुवामा परेको राष्ट्र हो । यहाँका कल कारखानाले उनीहरू सँग स्पर्धा गर्न सक्दैनन् । कृषि क्षेत्रले मात्र आजको आवश्यकता पूर्ति गर्ने अवस्था छैन । अवसर नपाएपछि पलायन स्वभाविक हो । यसो भनिरहँदा सबै विदेश पलायन हुनुपर्छ भनेको चाहीँ होइन नि । यसलाई नीतिगत ढङ्गले केही व्यवस्थित गर्न त सकिन्छ । तर, निमिट्यान्न पार्न चाहीँ सकिदैन । अवसरको लागि संसारभर जान आजको मावनलाई अब कसैले पनि रोक्न सक्दैन । आजको मानव नयाँ स्वाद र परिवेशमा रमाउन चाहन्छ । वाद्यात्मक (दुई छाक खान र सानो परिवार पाल्नको लागि ज्यानको बाजी राखेर थोरै पैसामा जोखिम मोलेर विदेश जाने) रोजगारीको अन्त्य भने गर्नै पर्छ ।

हाम्रा पार्टी अध्यक्ष कमरेड केपी ओलीले केही दिन अगाडि भन्नु भएको कुरालाई इङ्गित गर्नु भएको छ । त्यो उँहाले रोमाञ्चक ढङगले राख्नु भएको हो । वास्तवमा आज ७२ वर्षको हुँदा पनि उहाँको जोश जाँगर र हरेक विधाको ज्ञान आज कुन नेतामा छ ? २ पटक मिर्गौला फेरेको मान्छे ३० वर्षे युवाको जत्तिकै सक्रियता उहाँमा छ । दिनभरी गोजीमा हात राखेर चोकमा चर्काचर्का वेमतलवका कुरा गर्ने जो सुकैलाई पनि सक्रिय होऊ । उर्जाशील समयमा आफूले सकेको काम गर भन्ने हिसावले उहाँले भन्नु भएको हुनुपर्छ । उहाँ प्रधानमन्त्री हुँदा आएका धेरै योजनाहरूले आज गति लिईरहेका छन् । जस्तो भेरी बबई सिंचाई आयोजना, सुनसकोशी मरिन डाईभर्सन, विद्युतीय सवारी साधन, लगायत ८० प्रतिशत भन्दा धेरै कुरा उहाँको योगदान हुन् । हाम्रो पार्टीमा उहाँको विकल्प अहिलेको अवस्थामा छैन । धेरै संभावनाको खानी हो उँहा । नजिकबाट जसले सङगत गरेको छ त्यो मान्छे वास्तवमै प्रभावित हुन्छ ।

एउटा भनाई छ नि नेपाल कृषि प्रधान देश हो तर यहाँका मान्छेहरु गफ जोतेर नेता फलाएर, आश्वासन खान्छन् ?

कृषि क्षेत्रप्रति सरकारको नीति अस्पष्ट छ । यहाँ सरकार चुकेको छ । किसानको अनुदान टाठाबाठाले खाइदिने गरेकाले यो क्षेत्र सधैं हेलाको नजरमा पर्छ । अहिले पनि नेपालको जनसंख्याको ठूलो हिस्सा कृषिमा आधारित छ । सरकारले वास्तविक किसान पहिचान गरी ‘सिड मनी’ (बिऊ पूँजी) को व्यवस्था गरेर केही समयलाई व्याज मिनाहा गरेर जीवनस्तर उकास्ने नीति ल्याउनु पर्छ । जसबाट किसान आफैं स्वरोजगार बन्नुका साथै अन्य केहीलाई रोजगारी दिन्छ । किसानको आम्दानी बढ्नु भनेको राज्यको आर्थिक अवस्था पनि राम्रो हुनु हो नि त ।

तपाईंको अबको राजनैतिक यात्रा कतातिर नि ?

मैले माथिनै भनिसकें म मेरो जन्मथलोमा केही गरौं भनेर आएको हुँ । इनरुवा नगरक्षेत्र सुगम क्षेत्र भएपनि विकासको हिसावले दुर्गम जतिकै छ । न यहाँ गुणस्तरीय स्वास्थ्य छ । न शिक्षा छ । यी दुवैको लागि हामीले कि त विराटनगर कि त इटहरी जानुपर्ने बाध्यात्मक अवस्था छ । यो फोहोरी अवस्था आउनुमा यहाँको सत्तामा पुग्ने राजनैतिक खेलाडी कारण शिक्षा स्वास्थ्य जस्तो पवित्र क्षेत्रका मैदानमा फोहोर थुप्रिएको हो । यसलाई सफाई गर्न कसैले उत्सुकता तथा तत्परता देखाएनन् । निर्वाचित जनप्रतिनिधिहरू भिजन र मिसन नभएका छन् । यिनले अबको ५ वर्ष त्यतिकै विताउँछन् । म मिसन ०८४ लाई ‘टार्गेट’ गरेर अगाडि बढिरहेको छु । वर्तमान जनप्रतिनिधिका काममा हस्तक्षेपको राजनीति मैले गरेको छैन । किनभने पालो उनीहरूको हो । के–के गर्दा रहेछन भनेर हरेक ‘वाचडग’ को रूपमा हेरिरहेको छु । देश विदेश बुझेको युवा हुँ । हाम्रो नेतृत्व आएपछि इनरुवा नगरक्षेत्रको मुहार फेरिनेमा दुईमत छैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...