Admission Open

२२ वर्षको इतिहास तोड्दै साफमा नेपालको लगातार दोस्रो जित

श्रीलंकाविरुद्ध नेपालले साफ च्याम्पियनसिपमा ५ खेल खेलेको थियो । त्यसमा नेपाल एकैपल्ट विजयी भएको थियो

केशब आचार्य,

काठमाडौं, १९ असोज, माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा सोमबार राति  नेपाल र श्रीलंकाबिचको खेलमा नेपालले श्रीलंकालाई ३-२ गोलले पराजित गरेको छ । यो जित सँगै नेपालले साफमा लगातार दोस्रो जित हात पारेको छ।

नेपालले सन् १९९९ को साफमा श्रीलंकालाई हराएको थियो। भारतमा भएको खेलमा नेपाल ३-२ ले विजयी भएको थियो। त्यसयता नेपालले साफमा श्रीलंकालाई हराउन सकेको थिएन तर २२ वर्षको इतिहासलाई उल्ट्याउँदै साफमा नेपालले श्रीलंकालाई ३ – २ गोलले हराएको छ ।

नेपालका लागि सुमन लामाले ३३ मिनेटमा पहिलो गोल गरे । सुमनको प्रहार सुरुमा श्रीलंका गोलकिपर सुजन परेराले समात्न खोज्दा फुत्किएर बारमा लागेर फर्किएको थियो। रिबाउन्डमा सुमनले गोल गर्न सफल भए। सुमनको लागी भने यो पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो।

अन्जन विष्टले नेपालका लागि ५१ मिनेटमा दोस्रो गोल गर्दै नेपालको लागी अग्रता दोब्बर पार्न सफल भए। आयुष घलान क्रसमा नवयुग श्रेष्ठको प्रहारलाई श्रीलंकाका गोलकिपरले फर्काएका थिए। रिबाउन्डमा अन्जनले गोल गर्न सफल भए।

५७ मिनेटमा श्रीलंकाले गोल फर्कायो। उसका लागि मार्भिन हामिल्टनले लङरेन्ज प्रहारमार्फत बललाई जाली चुमाए। त्यसअघि नेपालका डिफेन्डर सुमन अर्यालले गोल लाइनबाट बललाई क्लियर गरेका थिए।

दोस्रो हाफमा नेपालले काउन्टर आक्रमण गर्ने क्रममा श्रीलंकाका गोलकिपरले मनिष डाँगीको प्रहारलाई छेकेका थिए। त्यसपछि मनिषले हेडमार्फत दिएको पासमा आयुष घलानको प्रहारमा फेरि श्रीलंकाका गोलकिपर बाधक बने।

तेज तामाङको क्रसमा आयुषले ८३ मिनेटमा उत्कृष्ट फिनिसिङ गर्दै नेपालका लागि तेस्रो गोल गर्न सफल भए।

गौतम श्रेष्ठले ह्यान्ड गरेपछि दोस्रो हाफको इन्जुरी टाइममा श्रीलंकाले पेनाल्टी पायो र  डि सिल्भाले सदुपयोग पनि गरे ।

साफमा नेपाल र श्रीलंकाको इतिहास ; 

श्रीलंकाविरुद्ध नेपालले साफ च्याम्पियनसिपमा ५ खेल खेलेको थियो । त्यसमा नेपाल एकैपल्ट विजयी भएको थियो भने अर्को एक खेल बराबरी खेलेको थियो  । बाँकी ३ खेलमा नेपाल पराजित थियो । सन् २०१५ मा भारतको त्रिवेन्द्रममा भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल यही श्रीलंकाविरुद्ध १-0 गोलले पराजित भएको थियो ।

यो जित सँगै नेपाल दुई खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ।  नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्स तथा बंगालदेशले श्रीलंकालाई समान १-० ले हराएका थिए।

दोस्रो स्थानको बंगलादेशको ४ अंक छ। बंगलादेशले सोमबार साँझ सकिएको खेलमा सात पटकको विजेता भारतलाई १-१ गोलको बराबरीमा रोकेको थियो।

यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ। पाकिस्तान र भुटान भने यसपालि माल्दिभ्समा हुने छैनन् ।

पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

अब नेपालले असोज २४ गते राति ९:४५ बजे भारतसँग भिड्दै छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...