Admission Open

ad place

मुस्ताङको प्रेमकथा बोकेको गीत ‘हिमालपारि’ सार्वजनिक

मकवानपुर। मुस्ताङको मौलिक संस्कृति, प्राकृतिक सौन्दर्य र प्रेमकथालाई समेटेर तयार पारिएको नयाँ नेपाली गीत ‘हिमालपारि’ सार्वजनिक भएको छ। प्रेम, विश्वास र भविष्यसँग जोडिएका वाचालाई सांगीतिक कथामार्फत प्रस्तुत गरिएको गीतले मुस्ताङको सांस्कृतिक पहिचानलाई उजागर गर्ने प्रयास गरेको छ।

गायक योगेश राना मगरको स्वर रहेको गीतमा जेम्स तामाङको शब्द तथा विक्रम थापाको संगीत रहेको छ। सञ्जय हमालले संगीत संयोजन गरेको गीतको मिक्सिङ बिसन मानन्धर र मास्टरिङ अशोक महर्जनले गरेका हुन्।

एकान्त मगरको निर्देशनमा तयार भएको गीतको भिडियोमा गायक योगेश राना मगर र प्रिया थापा प्रमुख भूमिकामा देखिएका छन्। सञ्जोक श्रेष्ठले छायांकन गरेको भिडियोमा भुपेन्द्र रिखाम मगरको कोरियोग्राफी रहेको छ। मेकअपमा रेविका मगर र यातायात व्यवस्थापनमा सुजन श्रेष्ठले योगदान दिएका छन्।

image

TVS_Golden key

गीतले मुस्ताङको छुसाङ गाउँकी भूमो र उनका प्रेमीबीचको प्रेम सम्बन्धलाई मुख्य विषय बनाएको छ। प्रेमिकासँग भविष्यमा घरबार बसाउने वाचा गर्ने प्रेमीको भावनालाई गीतमा प्रस्तुत गरिएको छ। घर र गुम्बालाई साक्षी राखेर जीवनभर सँगै रहने प्रतिबद्धताले गीतलाई भावनात्मक बनाएको छ।

गीतका “मुस्ताङकी भूमोको के होला नाम?” र “लुरी गुम्बा घुम्दै लोमान्थाङ, टीजी मेला हेर्नलाई जाऊँ” जस्ता शब्दले श्रोतामाझ उत्सुकता जगाउनुका साथै मुस्ताङको सांस्कृतिक तथा पर्यटकीय महत्त्वलाई समेत प्रस्तुत गरेका छन्। टीजी मेला, लुरी गुम्बा, लोमान्थाङ, राजदरबार र कालीगण्डकी नदीको प्रसङ्गसँगै घ्यालिङ बाजाको उल्लेखले गीतलाई स्थानीय संस्कृति र परम्परासँग जोडेको छ।

मुस्ताङको कथालाई दृश्यमा उतार्न गीतको भिडियो मकवानपुरका विभिन्न पर्यटकीय क्षेत्रमा छायांकन गरिएको छ। चित्लाङस्थित भेडा फार्म, मार्खू र कुलेखानीको इन्द्रसरोवर ताल आसपासका दृश्यले भिडियोमा प्राकृतिक सौन्दर्य थपेका छन्। मुस्ताङको सांस्कृतिक कथावस्तु र मकवानपुरका प्राकृतिक दृश्यलाई एकसाथ प्रस्तुत गरिएको भिडियोले दुवै क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय कथा, मौलिक शब्द र सांस्कृतिक पहिचानलाई प्राथमिकता दिएको ‘हिमालपारि’ले नेपाली संगीतमा क्षेत्रीय संस्कृति र प्रेमकथाको महत्त्वलाई पुनः उजागर गरेको छ। गीतले दर्शक तथा श्रोतामाझ मुस्ताङको मौलिक जीवनशैलीप्रति चासो बढाउनुका साथै मकवानपुरका पर्यटकीय गन्तव्यको प्रचारमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Video Link :

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...