
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित अवस्थामा रहेका जीवन बीमालेख पुनर्जागरण गर्न बीमितलाई प्रोत्साहन गर्ने उद्देश्यले विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने विशेष योजना सार्वजनिक गरेको छ।
कम्पनीले सञ्चालन गरेको उक्त अभियानअन्तर्गत २०८३ मंसिर २१ गतेसम्म बीमालेख पुनर्जागरण गर्ने योग्य बीमितले विलम्ब शुल्कमा छुट पाउनेछन्। विभिन्न कारणले नवीकरण हुन नसकी व्यतित अवस्थामा पुगेका बीमालेखलाई पुनः सक्रिय बनाउने उद्देश्यले कम्पनीले यस्तो सुविधा ल्याएको हो।
कम्पनीका अनुसार बीमालेख व्यतित भएको मितिबाट दुई वर्ष ननाघेका बीमालेख पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट उपलब्ध हुनेछ। त्यस्तै, दुई वर्ष नाघेका तर चार वर्ष ननाघेका बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा २५ प्रतिशत छुट दिइनेछ।
यो सुविधा सम्पूर्ण बीमा अवधिभर एकपटक मात्र उपयोग गर्न पाइने कम्पनीले जनाएको छ। साथै, छुट सुविधाको उपयोग गरी पुनर्जागरण गरिएको बीमालेख पछि बीमा अवधिभित्र समर्पण गरिएमा छुट दिइएको सम्पूर्ण विलम्ब शुल्क समर्पण मूल्यबाट कट्टा गरिने व्यवस्था गरिएको छ।
सन नेपाल लाइफका अनुसार यस अभियानको मुख्य उद्देश्य आर्थिक तथा अन्य विभिन्न कारणले निष्क्रिय बनेका बीमालेखलाई पुनः सक्रिय गराई बीमित र उनीहरूको परिवारको आर्थिक सुरक्षा निरन्तर कायम राख्नु हो।
जीवन बीमा व्यक्तिको मात्र नभई परिवारको आर्थिक सुरक्षासँग जोडिएको विषय भएकाले नियमित बीमा शुल्क भुक्तानी गर्न नसक्दा व्यतित भएका बीमालेखलाई पुनर्जागरण गर्ने अवसर प्रदान गरिएको कम्पनीको भनाइ छ।
कम्पनीले योग्य बीमितलाई अभियानको समयसीमाभित्रै आफ्नो बीमालेख पुनर्जागरण गरी उपलब्ध छुट सुविधाको लाभ लिन आग्रह गरेको छ।
यस सम्बन्धमा थप जानकारीका लागि बीमितले कम्पनीका नजिकका शाखा तथा उपशाखामा सम्पर्क गर्न सक्नेछन्। त्यस्तै, ९८०१२३४४४४, ०१–४५३६१२६, [email protected] तथा कम्पनीको आधिकारिक वेबसाइट www.sunlife.com.np मार्फत पनि जानकारी लिन सकिनेछ।
बीमितको हित संरक्षण र जीवन बीमाप्रतिको निरन्तरता अभिवृद्धि गर्ने उद्देश्यसहित ल्याइएको यस योजनाले व्यतित बीमालेखको संख्या घटाउन तथा बीमा सेवामा बीमितको पहुँच कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


