
नेपालगञ्ज । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको क्षमता, कार्यदक्षता तथा व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले चारदिने ‘इम्प्लोई स्किल इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ।
नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारीसहित ३०० भन्दा बढी कर्मचारी सहभागी भएका थिए।
कम्पनीकी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा कर्मचारीलाई बदलिँदो प्रविधि र व्यावसायिक आवश्यकताअनुसार दक्ष बनाउने विषयमा जोड दिइएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष सिंहले कर्मचारीलाई प्राविधिक रूपमा सक्षम बनाउन कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिसम्बन्धी तालिमलाई प्राथमिकता दिने बताइन्। कर्मचारीको क्षमता र दक्षतामा गरिने लगानीले कम्पनीको व्यवसाय विस्तारमा समेत सकारात्मक योगदान पुर्याउने उनको भनाइ थियो।
उत्कृष्ट कर्मचारीलाई सम्मान : कार्यसम्पादनका आधारमा छनोट भएका ‘बेस्ट इम्प्लोई अवार्ड–२०८३’ प्राप्त गर्ने सात कर्मचारीलाई कार्यक्रममा सम्मान गरिएको छ।
सम्मानित हुनेमा इटहरीका शिवेश ठाकुर, बर्दिबासकी गीता कुमारी थिङ, काठमाडौंकी रुक्मणी कुमारी शर्मा, विरौटाका अनिल श्रेष्ठ, नेपालगञ्जका सुवासमणि पोखरेल र प्रमिला मल्ल तथा जाजरकोटका विष्णुजंग शाही रहेका छन्। उनीहरूलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको कम्पनीले जनाएको छ।
एआईदेखि सम्पत्ति शुद्धीकरणसम्म प्रशिक्षण : कार्यक्रममा कर्मचारीलाई बीमा व्यवसायसँग सम्बन्धित विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो।
नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बीमाको माध्यमबाट विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण हुन सक्ने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने विषयमा प्रशिक्षण दिएका थिए।
त्यस्तै, प्रशिक्षक विश्वराज पौडेलले कृत्रिम बौद्धिकताको प्रयोगसम्बन्धी व्यावहारिक प्रशिक्षण दिएका थिए। प्रशिक्षक संजोग कोइरालाले कर्मचारीको व्यवहार तथा आचरणले संस्थाको पहिचान निर्माणमा खेल्ने भूमिकाबारे प्रशिक्षण दिएका थिए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले ग्राहकलाई सरल, छिटो र सम्मानजनक सेवा प्रदान गर्नुपर्नेमा जोड दिए। संस्थाका नीति तथा नियमको पालना र कामप्रतिको जवाफदेहितालाई संस्थागत संस्कारका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।
खेलकुद र सिर्जनात्मक गतिविधिसमेत : कार्यक्रममा कर्मचारीको सिर्जनात्मकता, नेतृत्व क्षमता, सहकार्य र कार्यसम्पादन अभिवृद्धिका लागि विभिन्न अतिरिक्त गतिविधि सञ्चालन गरिएको थियो।
सातै प्रदेशबाट सहभागी कर्मचारीले दैनिक कार्यसम्पादनसँग सम्बन्धित विषयमा नाटक प्रस्तुत गरेका थिए। विभागीय प्रमुखहरूसँग प्यानल छलफल, कर्मचारीबीच परीक्षा तथा अन्तरकर्मचारी फुटसल, टेबल टेनिस र डोरी तान्ने प्रतियोगितासमेत आयोजना गरिएको थियो।
प्रतियोगिताका विजेता टोली तथा खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। कार्यक्रमको अन्तिम दिन कर्मचारीलाई विश्राम तथा मनोरञ्जनका लागि कर्णाली चिसापानी भ्रमण गराइएको थियो।
कम्पनीका अनुसार चारदिने कार्यक्रमले कर्मचारीको प्राविधिक ज्ञान, व्यावसायिक दक्षता, नेतृत्व क्षमता, व्यवहार तथा संस्थागत कार्यसंस्कृति विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।


