काठमाडौं । युवराज सम्राको शतकीय इनिङमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा पहिलो जित निकालेको छ । पोखराले कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै लगातार चार खेलको हारको शृङ्खला तोडेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनाएको थियो । पोखराका लागि ओपनर युवराज सम्राले ४७ बलमा १० चौका र ६ छक्काको मद्दतमा १०२ रन बनाए । जारी सिजनको यो पहिलो शतक हो ।
कुशल भुर्तेलले ३९ बलमा सात छक्कासहित ६२ रन जोडे । युवराज र कुशलले दोस्रो विकेटका लागि १३२ रनको उत्कृष्ट साझेदारी गरे । अविजित कप्तान चमिका करुणारत्नेले ११ बलमा तीन चौका र तीन छक्कासहित ३५ रन बनाए ।
२१८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमै समेटियो । कर्णालीका पवन सर्राफले सर्वाधिक ३२, अरिफुल इस्लामले २४, दीपक डुम्रेले २२ र सोमपाल कामीले २१ रन बनाए ।
पोखराका मेहदी हसनले तीन विकेट लिए । कुशल भुर्तेल, धनञ्जय लक्ष्मण र विपिन खत्रीले समान दुई विकेट हात पारे ।
लगातार चार हारपछि पहिलो जित निकालेको पोखराले प्रतियोगितामा दुई अंक जोडेको छ । पाँच खेल खेलेको कर्णाली भने दुई जित र तीन हारसहित चार अंकमा सीमित छ । यो हारसँगै कर्णालीको प्लेअफ यात्रा थप कठिन बनेको छ ।



