
काठमाडौं । जगदम्बा मोटर्स प्रालिले नेपालमा टीभीएसका दुई नयाँ दुईपांग्रे सवारीसाधन सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको ‘अचम्मैको महा एक्सचेन्ज’ मेलामार्फत टीभीएस एनटर्क १५० र नयाँ टीभीएस अपाचे आरटीआर २०० ४भी सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार नयाँ एनटर्क १५० को मूल्य ३ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, नयाँ अपाचे आरटीआर २०० ४भीको परिचयात्मक मूल्य ४ लाख ५९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।
दशैं–तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा ग्राहकले आफ्नो पुरानो दुईपांग्रे सवारीसाधन साटेर नयाँ टीभीएस खरिद गर्न सक्नेछन् । कम्पनीले मेलाका क्रममा ग्राहकलाई १०० प्रतिशतसम्म नगद फिर्ता, सुनको साँचो वा १० लाख रुपैयाँसम्मको नगद छुट जित्ने अवसर रहेको जनाएको छ ।
कम्पनीका अनुसार मेलास्थलमा ५० भन्दा बढी मूल्याङ्कनकर्ता राखिएका छन् । पुरानो सवारीसाधनको उच्चतम साटफेर मूल्याङ्कन उपलब्ध गराउने दाबी कम्पनीले गरेको छ । यस्तै, प्रत्येक दिन दुई जना भाग्यशाली ग्राहकलाई पाँच वर्षसम्म निःशुल्क सवारीसाधन मर्मत सेवा उपलब्ध गराइने जनाएको छ ।
ग्राहकका लागि नागरिकता प्रमाणपत्र र सवारी चालक अनुमतिपत्रका आधारमा छिटो कर्जा सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ । मेलामा टीभीएसका सम्पूर्ण मोडलसमेत प्रदर्शनमा राखिएका छन् ।
नयाँ अपाचेमा प्रोजेक्टर हेडलाइट र उल्टो अगाडिको फोर्क
नयाँ अपाचे आरटीआर २०० ४भीमा प्रोजेक्टर हेडलाइट तथा उल्टो अगाडिको फोर्क (यूएसडी) जडान गरिएको छ । कम्पनीका अनुसार नयाँ प्रविधिले मोटरसाइकललाई थप आकर्षक र आक्रामक स्वरूप दिनुका साथै सवारी चलाउँदा नियन्त्रण र सन्तुलनमा सुधार ल्याउनेछ ।
नयाँ अपाचे म्याट ब्ल्याक र ग्रेनाइट ग्रे गरी दुई रङमा उपलब्ध हुनेछ ।
कार्यक्रममा टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बालीले नेपाल टीभीएसका लागि महत्वपूर्ण बजार रहेको बताए । उनका अनुसार एनटर्क १५० र अपाचे आरटीआर २०० ४भीमा कम्पनीको दौडमा आधारित प्रविधि प्रयोग गरिएको छ ।
जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले नयाँ उत्पादनसँगै आयोजना गरिएको महा एक्सचेन्ज मेलाले ग्राहकलाई पुरानो सवारीसाधन साटेर नयाँ सवारीसाधनमा स्तरोन्नति गर्ने अवसर प्रदान गर्ने बताइन् ।
असोज १२ देखि १९ गतेसम्म मेला
भृकुटीमण्डपमा असोज १२ गतेदेखि असोज १९ गतेसम्म सञ्चालन हुने मेला हरेक दिन बिहान १० बजेदेखि खुला रहने कम्पनीले जनाएको छ ।
मेलामा नयाँ सवारीसाधनको प्रदर्शनसँगै कौशल प्रदर्शन, परीक्षण सवारी, खेल क्षेत्र तथा खानाका स्टलसमेत राखिएका छन् । यसले परिवार तथा दुईपांग्रे सवारीसाधनका पारखीलाई एकै स्थानमा मनोरञ्जन तथा नयाँ सवारीसाधनबारे जानकारी लिने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक हो । कम्पनीले देशभर बिक्री तथा बिक्रीपछिको सेवा सञ्जालमार्फत टीभीएसका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको जनाएको छ ।


