Admission Open

गलत काम हुन दिन्न, सल्लाह सुझावको सधैं अपेक्षा राख्छु : मेयर भण्डारी (इनरुवा नगरपालिका, सुनसरी)


स्थानीय निकायको निर्वाचन सम्पन्न भएको करिव २ महिना वित्नै लाग्यो । सबै स्थानीय निकायका जनप्रतिनिधिले पद सम्हालिसकेका छन् । कामको लयोपयोको बारेमा धेरैले बुझिसकेका छन् । इनरुवा नगरपालिकाले नेपाली कांग्रेसका जिल्ला सभापति रहेका नेता केदार भण्डारीलाई मेयर पाएको छ । राम्रो कामको सधैं तारिफ तथा नराम्रो कामको आलोचना गर्न हाम्रा हात काम्दैनन् । ढिलै भएपनि नेपालीमाला अनलाईनको तर्फबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई । चुनावी गतिविधि तथा भावी योजनाका बारेमा नेपालीमाला अनलाइनका वरिष्ठ संवाददाता दीपक निरौलाले गरेको कुराकानीको सारः

जिल्ला सभापति पनि, मेयर पनि दुवै हातमा लड्डु भयो है यसपाली ?

मैले सुनसरी जिल्लामा लामो समय पार्टीको काम गरेको छु । यहाँका जनतासँग सुखदुःखका रात संगै कटाएको छु । हाम्रो पार्टी नेपाली कांग्रेसलाई श्रीवृद्धि हुने काम गरेको छु । मलाई पार्टी तथा जनताले दुवै किसिमको जिम्वेवारी दिनु भएको छ । यसलाई मैले लड्डुको रूपमा नभएर कर्तव्यको रूपमा लिएको छु ।

चुनाव जित्न कस्ता –कस्ता चुनौतिका चाङ पार गर्नुपर्दो रहेछ ?

गरिवी, अशिक्षाका बावजुद भ्रष्टाचार र ढिलासुस्ती मोलाएको हाम्रो जस्तो देशमा चुनौतिको कुरा गरेर साध्यनै छैन । तर मैले यसलाई चुनौतिको रूपमा नभएर अवसरको रूपमा प्रयोग गर्छु भन्ने वाचा जनतासामु गरेको छु । जसबाट मैले अपार माया पाएँ । यो मायालाई म तेतिकै वैलाउन दिन्न ।

समग्र नगरविकासका लागि के–के कार्ययोजना ल्याउने सोच राख्नु भएको छ ?

हाम्रो नगर नगरपालिका भएतापनि ग्रामिण परिवेश भएको नगर हो । यसमा कृषिलाई अगाडि नबढाई नगरको विकास गर्न गाह्रो छ । यो क्षेत्रमा कुनै उद्योग धन्दा छैनन् । जसका कारण रोजगारीको ठूलो समस्या छ । त्यसैले नीति तथा कार्यक्रम मार्फत कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेको छु । कुनै दलित, असहायको मृत्यु भएमा किरियाखर्च वापत १० हजार सम्म आर्थिक सहायता दिने नीति लिएको छ । यसका साथै केही उद्योगधन्दाहरू इनरुवा नगरपालिका क्षेत्रमा भित्र्याउने योजनामा छौं ।

धेरै नेतालाई आसेपासे, सल्लाहाकारले डुवाउने गरेका छन् । तपाईं गलत सल्लाहाकारको चंगुलबाट उम्कने के प्रयत्न गर्नुहुन्छ ?

मेरो हकमा त्यस्तो परिस्थिति छैन । सुनसरी जिल्लामा महत्वपूर्ण नेताहरु ह्ुनुहन्छ । उहाँहरु सवैको सरसल्लाह लिएर नै हिंड्ने गर्छु । सवै क्षेत्रका लागि विज्ञहरुको समिति बनाउछु । र सो अनुसार अगाडि बढ्छु ।

उसोभए अगाडिका जन–प्रतिनिधिले जस्तै तपाईंका भाई भतिजाहरुले ५ वर्ष राजगर्ने भए ?

(हाँस्दै !) होइन । सम्पूर्ण नगरवासीले मेयर मेरो हो भन्ने आभाष हुनेगरी काम गर्छु । म आफैैं राजगर्न आएको होइन । यो क्षेत्रका जनताको सेवागर्न र उनिहरुको जीवनस्तर कसरी माथि उकास्न सकिन्छ भनेर काम गर्न आएको हुँ । भाई भतिजाले राजगर्ने त कुरै छाड्नोस् ।

कांग्रेस जिल्ला सभापति जितेदेखि तपार्ईंमा घमण्डको घोडसवार सुरुभयो भन्नेकुरा सत्य हो ?

होइन, होइन । यो कुरा त साथीभाई तथा शुभेच्छुकले महसुस गर्ने कुरा हो । यदि म बाट घमण्ड भएको भए सुझाव पाउँ म तुरुन्तै सुध्रन तयार छु ।

अन्त्यमा, मतदाता तथा शुभेच्छुकलाई राम्रो काम गर्छु भनेर कसरी आश्वस्त पार्नुहुन्छ ?

भरखरै निर्वाचित गराउनु भा’छ । काम सुरु हु्ँदैछ । राम्रै काम गरेर इनरुवा नगरको मुहार फेर्ने मेरो धोको छ । यसैका लागि म लागिपरेको छु । कहीं कुनै काम गर्न मेरो क्षमता तथा विवेकले भ्याएन भने समयमै सल्लाह र सुझावको अपेक्षा गर्दछु । तपाईँ र नेपाली माला टिमलाई हार्दिक धन्यवाद, शुभकामना ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...