Admission Open

ad place

नेपालको मौलिक संस्कृति र अध्यात्मलाई वेलनेस पर्यटनको ब्रान्ड बनाउनुपर्नेमा जोड

काठमाडौं । नेपालको मौलिक संस्कृति, आध्यात्मिक परम्परा, प्राकृतिक सम्पदा र जीवनशैलीलाई विश्व बजारमा स्थापित गरेर वेलनेस पर्यटनको विशिष्ट गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा अन्तर्राष्ट्रिय वेलनेस विज्ञ तथा पर्यटन क्षेत्रका सरोकारवालाले जोड दिएका छन् ।

सन् २०२७ लाई नेपाल वेलनेस पर्यटन वर्षका रूपमा प्रवर्द्धन गर्ने तयारी भइरहेका बेला नेपाल पर्यटन बोर्डले बुधबार बेलुका काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा आयोजित ‘वेलनेस टुरिजम इन नेपाल : ग्लोबल पर्स्पेक्टिभ्स एन्ड स्ट्राटेजिक प्रायोरिटिज’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले नेपालको वेलनेस पर्यटनको पहिचान अरू देशको अवधारणाको नक्कल गरेर नभई आफ्नै मौलिक विशेषताका आधारमा निर्माण गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय वेलनेस विज्ञ निगेल फ्र्याङ्कलिनले नेपालसँग विश्व वेलनेस पर्यटन बजारमा विशिष्ट पहिचान स्थापित गर्न आवश्यक प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक आधार रहेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी कथा र रणनीतिमार्फत अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनुपर्ने बताए ।

TVS Pokhara

विश्वका प्रतिष्ठित लक्जरी होटल तथा वेलनेस संस्थाहरूसँग काम गरेको दुई दशकभन्दा लामो अनुभव भएका फ्र्याङ्कलिनले नेपालको वेलनेस पर्यटन प्रवर्द्धन गर्दा नेपालको मौलिक पहिचानलाई कमजोर बनाउन नहुने धारणा राखे । “नेपालले वेलनेस पर्यटनको प्रवर्द्धन गर्दा अरू देशको अवधारणालाई जस्ताको तस्तै अपनाउनु स्वभाविक देखिँदैन । नेपालको आफ्नै संस्कृति, आध्यात्मिकता, परम्परा र प्रकृतिसँग जोडिएको जीवनदर्शन छ । विश्व बजारलाई नेपालले आफ्नै कथा सुनाउनुपर्छ । यहाँका मन्दिर, संस्कृति, परम्परा र समुदायसँग जोडिएका अनुभवलाई विश्वसामु पुर्‍याउन सक्नुपर्छ,” फ्र्याङ्कलिनले भने।

TVS_Golden key

उनका अनुसार विश्व पर्यटन बजारमा वेलनेसको माग बढ्दै गएको अवस्थामा नेपालले आफ्नो सांस्कृतिक र आध्यात्मिक सम्पदालाई पर्यटन अनुभवसँग जोडेर नयाँ पहिचान निर्माण गर्न सक्छ । वेलनेसलाई केवल स्पा, मसाज वा आरामसँग सीमित नगरी आत्मिक शान्ति, प्रकृतिसँगको सम्बन्ध, अपनत्व र जीवनशैलीसँग जोडेर प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो । उनले विश्वका मानिसहरू बढ्दो व्यस्तता र कोलाहलबाट थकित भइरहेका बेला उनीहरूलाई नेपालको प्राकृतिक र सांस्कृतिक जीवनशैलीसँग जोड्ने अवसर रहेको उनले बताए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक लक्ष्मण गौतमले नेपालको वेलनेस पर्यटन विकासमा मौलिक सम्पदाको संरक्षण र पर्यटक आगमन वृद्धि तथा पर्यटनबाट प्राप्त हुने आर्थिक लाभबीच सन्तुलन कायम गर्नु मुख्य चुनौती रहेको बताए । “हामी अहिले एउटा विरोधाभासपूर्ण अवस्थामा छौँ । एकातिर हाम्रो प्राचीन सम्पदा, धार्मिक आस्था, संस्कृति र मौलिक पहिचान जोगाउनुपर्ने दायित्व छ भने अर्कोतर्फ पर्यटकको संख्या बढाउने, उनीहरूको बसाइ अवधि लम्ब्याउने र पर्यटनबाट प्राप्त हुने लाभ विस्तार गर्नुपर्ने आवश्यकता छ । यी दुई पक्षबीच सन्तुलन कायम गर्दै अगाडि बढ्नु आजको मुख्य चुनौती देखिन्छ,” गौतमले भने।

उनका अनुसार वेलनेस पर्यटनको मूल उद्देश्य मानिसलाई आफैँसँग जोडिन, आफ्नो अस्तित्व बुझ्न र आत्मिक शान्ति प्राप्त गर्न सहयोग गर्नु हो । नेपालले आफ्नो संस्कृति, प्रकृति र जीवनशैलीमा निहित यस्ता अनुभवलाई पर्यटन उत्पादनका रूपमा विकास गर्न सक्ने उनले बताए ।

गौतमले नेपालबारे अन्तर्राष्ट्रिय बजारमा अझै पनि हिमाल र पर्वतारोहणकै पहिचान बढी स्थापित रहेको उल्लेख गर्दै वेलनेस पर्यटनमा छुट्टै अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्न नयाँ मानक आवश्यक रहेको बताए । नेपालले आफ्नो मौलिक विशेषतालाई अन्तर्राष्ट्रिय बजारले बुझ्ने भाषामा प्रस्तुत गर्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा नेपाल वेलनेस पर्यटनको विशिष्ट पहिचान, सन् २०२७ को वेलनेस पर्यटन वर्षको तयारी, अन्तर्राष्ट्रिय बजारमा नेपालको ‘पोजिसन’ निर्धारण तथा सरकार र निजी क्षेत्रबीचको सहकार्यका प्राथमिकताबारे छलफल भएको थियो ।

अन्तरक्रियामा सरकार तथा निजी क्षेत्रका वेलनेस पर्यटन सम्बद्ध संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका प्रतिनिधिहरूले वेलनेस पर्यटनलाई नेपालको समग्र पर्यटन व्यवसायसँग जोडेर विकास गर्नुपर्ने धारणा राखेका थिए । यसका लागि स्पष्ट सन्देश, मौलिक पर्यटन अनुभव र अन्तर्राष्ट्रिय बजार लक्षित प्रभावकारी प्रवर्द्धन आवश्यक रहेकोमा जोड दिइएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...