Admission Open

ad place

भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो

TVS_Golden key

गासा (भुटान), १३ कात्तिक (रासस/एएनआई) : भुटानको उत्तरी गासा जिल्लास्थित सिन्टाफु हिमताल विस्फोटपछि आएको बाढीले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्ड बगाएको छ भने पुनाखा–गासा राजमार्गको एक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घटनापछि अधिकारीहरूले क्षतिको विवरण सङ्कलन र जोखिमको मूल्याङ्कन गरिरहेका छन् ।

डेली भुटानका अनुसार बिहीबार साँझ लुङ्गो, लया गेओगस्थित वाकिला पहाडनजिकको तालबाट पानी बाहिरिएको थियो । राति करिब ८ः१५ बजे बाढीको पानी ताकत्सेमाखाङ पुगेपछि लयाको दुर्गम बस्ती जोड्ने सडकमा क्षति पुगेको थियो । राजमार्गको करिब ३१.८५ किलोमिटर खण्ड बगेपछि अर्को सूचना जारी नभएसम्म यातायात बन्द गरिएको छ । यात्रुलाई अत्यावश्यक नभए यात्रा स्थगित गर्न आग्रह गरिएको छ ।

सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको र चेतावनी साइरन बजाइएको थियो । शुक्रबार बिहानसम्म मानवीय क्षति भएको खबर छैन । तालबाट निस्किएको पानीको मात्रा र क्षतिको पूर्ण विवरण भने पुष्टि हुन बाँकी छ ।

सिन्टाफु तालको पानी मो छु नदी हुँदै पुनाखा पुग्छ, जहाँ फो छु नदीसँग मिसिएर पुनात्साङछु बन्छ । यो नदी पछि सङ्कोशका रूपमा भारत प्रवेश गर्छ । त्यसैले भारतको उत्तर बङ्गाल क्षेत्रमा पनि सतर्कता अपनाइएको छ ।

सिन्टाफु भुटानका १७ सम्भावित जोखिमयुक्त हिमतालको सूचीमा रहेको ताल हो । सन् २०२३ मा भुटानी विज्ञहरूले यसको अध्ययन गरी ताल, प्राकृतिक बाँध र पानी आपूर्ति गर्ने हिमनदीको अवस्था जाँच गरेका थिए । जोखिम निगरानीका लागि उपकरणसमेत जडान गरिएको थियो । सूचीमा समावेश हुनुको अर्थ विस्फोट निश्चित हुनु नभई निरन्तर निगरानी आवश्यक हुनु हो ।

यसैबीच, भारतको केन्द्रीय जल आयोगले बाढीको जोखिमलाई ध्यानमा राख्दै पश्चिम बङ्गाल र असमका लागि विशेष सतर्कता जारी गरेको छ । आयोगले अलिपुरद्वार र धुब्री जिल्लामा पानीको सतह अचानक बढ्न सक्ने चेतावनी दिँदै सङ्कोश नदीको जलस्तर निगरानी गर्न र सावधानी अपनाउन स्थानीय अधिकारीहरूलाई आग्रह गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...