Admission Open

ad place

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु

भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि ४६औँ नेपालभाषा तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ। ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिका–७, गोमारीको यातामा सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ।

सम्मेलनको उद्घाटन सांस्कृतिक गुरु एवं ज्येष्ठ नागरिक मोतीबहादुर खायमलीले गरेका थिए। बिहान ११ बजेदेखि सुरु भएको सम्मेलन राति ११ बजेसम्म सञ्चालन भएको थियो। आयोजकका अनुसार साहित्यिक तथा सांस्कृतिक गतिविधिमार्फत नेपालभाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु सम्मेलनको मुख्य उद्देश्य हो।

सम्मेलनमा कवित, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन गरिएको थियो। साथै साहित्यिक प्रतियोगिता, नाटक, ख्याल, नृत्य, गीतिनाटक तथा सांगीतिक प्रस्तुतिसमेत गरिएको थियो। विभिन्न विज्ञ तथा वक्ताले समसामयिक राजनीतिक, सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा आफ्ना धारणा राखेका थिए। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका समस्यालाई समेत साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिमार्फत उठाइएको आयोजकले जनाएको छ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, जलस्रोतविद् रतन भण्डारीलगायत विभिन्न क्षेत्रका विज्ञ तथा साहित्यकारले मन्तव्य व्यक्त गरेका थिए।

सम्मेलनका अवसरमा कवि दामोदर सुवाल, दयालक्ष्मी जोशी र २०८२ सालको मदन पुरस्कार प्राप्त पुस्तक ‘मुकुण्डो’ की लेखक वीणा जोशीलाई सम्मान गरिएको थियो। कार्यक्रममा तःमुंज्या स्मारिकासमेत विमोचन गरिएको थियो।

नेपाल संवत् ११०० अर्थात् वि.सं. २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषाको संरक्षण, साहित्यिक सिर्जनाको विकास र सांस्कृतिक चेतना अभिवृद्धिमा योगदान पुर्‍याउँदै आएको छ। सम्मेलनले नयाँ पुस्ताका लेखक, कवि तथा कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न प्रोत्साहित गर्दै आएको आयोजक समितिका अध्यक्ष उकेश कवांले जानकारी दिए।

पहिलो दिनको सभापतित्व इभा कंशाकारले गरेकी थिइन् भने दोस्रो दिन शनिबारको सभापतित्व बसन्त महर्जनले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...