
काठमाण्डौं : मोरङको पथरीमा जारी तेस्रो पथरीशनिश्चरे गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा न्युरोड टिम (एनआरटी)लाई टाइब्रेकरमा पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार पथरी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा पुलिस क्लब एनआरटीलाई ४–३ गोलअन्तरले हराउदै फाइनलमा प्रवेश गरेको हो ।
खेलको २७औँ मिनेटमा सुजन मगरले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाउनुभयो । तर, मध्यान्तरपछि एनआरटीले खेलमा फर्किदै ५३औँ मिनेटमा गोल फर्कायो । एनआरटीका आशिष गुरुङले पेनाल्टीमार्फत बराबरी गोल गर्नुभएको हो । पुलिसका कप्तान राम बाजीले एनआरटीका शिशिर लेखीलाई पेनाल्टी एरियामा फल्ड गरेपछि मुख्य रेफ्री श्याम दनुवारले एनआरटीलाई पेनाल्टी प्रदान गर्नु भएको थियो ।
त्यसपछि दुवै टोलीले थप गोल गर्न नसकेपछि निर्धारित समय १–१ को बराबरीमा सकिएको थियो भने खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा एनआरटीका तर्फबाट मिचेल गर्बुजा, सुदीप लामा र आशिष गुरुङले गोल गर्नुभएको थियो । एनआरटीका कृतिश रत्न छुन्जुको प्रहार पोलमा ठोक्किएको थियो भने विशाल थिङको प्रहार पुलिसका गोलरक्षक अमित टमटाले बचाउनुभयो ।
पुलिसका तर्फबाट सुजन मगर, निरज खड्का, दशरथ गिरी र अमित टमटाले गोल गर्नुभयो । पुलिसका कप्तान राम बाजीको प्रहार भने एनआरटीका गोलरक्षक विशाल सुनारले बचाउनुभयो ।
टाइब्रेकरमा ४–३ को जित निकाल्दै पुलिसले फाइनलमा स्थान बनाएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएका पुलिसका सुजन मगर म्यान अफ द म्याच घोषित हुनुभयो । उहाँलाई नगद सात हजार रुपियाँसहित ट्रफी प्रदान गरिएको थियो ।
उपाधिका लागि नेपाल पुलिस क्लबले झापा ११ को सामना गर्नेछ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा युकेएफसीलाई ५–१ गोलअन्तरले पराजित गर्दै झापा ११ फाइनलमा पुगिसकेको छ ।
तेस्रो पथरीशनिश्चरे गोल्डकपको फाइनल खेल शनिबार झापा ११ र नेपाल पुलिस क्लबबिच हुनेछ ।


