
काठमाडौँ : नेपाल एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको खेलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान १८.१ ओभरमा ६० रनमै अलआउट भयो। ओमानका जतिन्दर सिंहले २५ र जितेन रमानन्दीले १३ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले तीन–तीन तथा ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा समेटिएको थियो। दीपेन्द्र सिंह ऐरीले ५१ र बसिर अहमदले ४७ रन बनाए। देव खनालले १३ तथा आसिफ शेखले ११ रन जोडे।
ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन विकेट लिए भने मुहम्मद इमरानले दुई विकेट लिए।
अब नेपालले उपाधिका लागि युएईसँग खेल्नेछ। युएईले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाइसकेको छ। नेपाल र युएईबीचको फाइनल शनिबार हुनेछ।
प्रतियोगिताको विजेता टोलीले सन् २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थान बनाउनेछ।


