Admission Open

राष्ट्रिय महिला भलिबलको सेमिफाइनल समिकरण पूरा

रामपुर (पाल्पा) : रामपुरमा जारी प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । सोमबार लिग चरणका बाँकी खेलहरु सम्पन्न भएसंगै सेमिफाइनलको समिकरण पुरा भएको हो ।

प्रतियोगिताको सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लव, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेश प्रवेश गरेको छ । समूह चरणको खेलमा एपीएफ समूह ‘ए’बाट विजेता र लुम्बिनी प्रदेश उपविजेता, बागमती प्रदेश समूह ‘वी’ बाट विजेता र कोशी प्रदेश उपविजेता बन्दै सेमिफाईनलमा पुगेको हो ।

कर्णाली, लुम्बिनी र गण्डकीलाई सोझो सेटमा पराजित गर्दै एपीएफ क्लव समूह विजेता बनेको हो । सोमवार भएको तेस्रो खेलमा गण्डकी प्रदेशलाई एपीएफले ३–० को सोझो सेटमा पराजित गरेको थियो । २५–७, २५–१७ र २५–९ अंक सहित हराउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो ।

समुह ‘वी’ मा रहेको बागमती सुदुरपश्चिम र कोशी संगको खेलमा जित हात पार्दै शीर्षस्थानमा बनाउन सफल भएको थियो । समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशलाई ३–० विजेता बनेको हो । बागमतीले खेलमा २५–६, २५–८ र २५–१३ अंकको जित निकालेको थियो । लिग चरणको तीन खेल मध्ये गण्डकी संग जित र एपीएफ संग हार बेहोरेको लुम्बिनीले अन्तिम खेलमा कर्णाली प्रदेशलाई ३–१ सेटले पराजित गर्न सफल भयो । १९–२५, २५–१७, २५–१० र २५–१७ अंकको जित निकाल्दै लुम्बिनी सेमिफाइनलमा पुगेको हो ।

मधेश प्रदेश संग ३–१ सेटको जित र बागमती संग ३–० को हार बेहोरेको कोशीले तेस्रो खेलमा सुदुरपश्चिमलाई सोझो सेटमा हरायो । कोशी प्रदेशले २५–२०, २५–१९ र २५–१४ अंक सहितको जित निकाल्न सफल भयो । गत शनिबार देखि रोकिएको समुह चरणको सुदुरपश्चिम र मधेश प्रदेश विचको खेलमा मधेस प्रदेशले ३–२ सेटको जित निकालेको थियो । समूह चरणको खेलमा मधेश प्रदेश र गण्डकी प्रदेश एक एक खेल जित्न सफल भएको थियो । कर्णाली र सुदुरपश्चिमले कुनै पनि खेल जित्न सकेन ।

मंगलबार दुई सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ र कोशी प्रदेश तथा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । २२ गते फाइनल खेल हुने भनिएपनि आइतबारको खेल वर्षाले प्रभावित भएपछि २३ गते हुने भएको छ ।

रामपुर जारी प्रतियोगिता लिगकम नकआउट सिस्टममा भएको थियो । जिल्ला भलिबल संघ पाल्पाको आयोजना र प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवद्र्धनमा गत फागुन १८ देखि जारी प्रतियोगिताको फाईनल खेल २३ गते हुनेछ । प्रतियोगितामा विजेता हुने प्रथम, द्वितीय, तृतीय र सान्त्वना समूहले क्रमशः नगद दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...