Admission Open

खुसीको सीमा

लघुकथा

हजुरबाको पालामा
कोरली ब्यायो, एकमाना दुध दियो । एक पालामा आधामाना घिउ लाग्यो । हजुरबाको खुसीको सीमै रहेन ।
हजुरबाले आफ्नो खुसी गाउँभरी सुनाउनु भो । गाउँलेहरु पनि हजुरबाको खुसीमा पुलकित भए ।
घिउ बेचेको थोरै पैसा पोको पारेर हजुरबा धेरै खुसी हुनुभयो ।

हजुरबाकै बिँडो बुबाले थाम्नु भो, बुबाको पालामा पनि हजुरबाको शाख छँदै थियो । बुबाले पनि लाहुरी भैँसी पाल्नु भो, थुप्रै टिन घिउ बेच्नु भो । हामीले घाँस काटिउँ, भकारो सोहोर्यौँ । दही मथेर मही बनायौँ, घिउ खार्यौँ र घिउभात खायौँ ।
हाम्रा राताराता गाला र चिल्ला तिघ्रा हेरेर बुबा खुसीले नाच्नुहुन्थ्यो ।
पटुकामा बाँधेको सुजेरोबाट हामीले मागेजति पैसा दिनुहुन्थ्यो । हामी पनि खुसीले तीन फिट उफ्रन्थ्यौँ ।
बुबाको थैलोमा पैसाभन्दा बढी खुसीको पोको हुन्थ्यो ।

पालो हाम्रो आयो
हामीले हजुरबा र बुबाको बिँडो थाम्न सकेनौ, हाम्रा छोराहरु घाँस काट्न छोडेर लागे बिदेशतिर ।
छोराछोरीको इच्छा र समयसँगै चल्नुपर्ने बाध्यताले हामी पनि गाउँ छोडेर सहरतिर लाग्यौँ ।

आज तीन भाइ छोराले पालैसँग महिनै पिच्छे कोही डलर पठाउँछन् , कसैले रियल पठायौँ भन्छन् ।
धानका बिटा बोकेर कहिल्यै नगलेको म आजभोलि पैसाका बिटा बोकेर गल्न थालेको छु ।
पैसा भरिँदै जाँदा माया रित्तिँदै जाँदो रहेछ ।
पैसा थपिँदै जान्छ, म जोड्दै जोड्दै जान्छु ।
हजार हुन्छ, लाख हुन्छ अनि करोडतिर लाग्छ ।
पैसा जोडिसकेर जव म खुसी जोड्न थाल्छु ।
तर खुसी जोडिँदैन जोडिँदैन, खाली घट्छ मात्रै ।
म सम्झन्छु, जुन दिन खुसी शुन्य हुन्छ, सायद म पनि शुन्यमा हराउँछु ।

# यम बास्तोला, खोटाङ

(हाल काठमाडौँ)

yamprasadb33@gmail.com

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...