Admission Open

मूलघर सम्झेर

#यमप्रसाद बास्तोला

कविता

मूलघर सम्झेर

  • यमप्रसाद बास्तोला

उपल्लो, अग्लो डाँडाको भन्ज्याङबाट
फुत्त भागेर
मैलाई भेट्न जसरी
दौडिइरहेको त्यो सानो ऐनाजत्रो घाम
सक्षम हुन्छ नि
संसारलाई आलोकमय बनाउन
त्यसरीनै तिमी आउनेछौ एकदिन
यही आगनमा खेल्न
प्रिय परदेशी,
म पर्खिरहेछु त्यो समय –

आकाशको जुन टिप्न होइन
तर त्यस्तै अग्लो लक्ष्य बोकेर हिँडेका
तिम्रा ती यात्रारत पाईलाहरु
छुट्टिन्छन् दोबाटोमा त के भो ?
फेरि भेटिन्छन् मूलबाटोमा र
सँगै यात्रा गर्छन् जुनिभरी

मेरो विश्वास
तिमी त्यही लक्ष्य पक्रेर
यही मूलबाटो हिँड्न
फर्कने छौ,
पक्कै फर्कने छौ
म पर्खिरहेछु त्यो दिन –

जसरी कोसीको पानी टिपेर हावा
उकालो हिँडिरहन्छ र
चौतारीमा सबैसबैलाई
हम्किइ रहन्छ शीतल बतास-

चाहे थुन्सेमा आराखा बोकेर
माइत हिँडिरहेकी खुशेले डाकुन या
ढाकरमा बेसाहा छाँदेर
बेँसी ओर्लिइरहेका डुक्पाबाजेले
या अरुनै कोही…
जसले बोलाए पनि
खुरुक्क आउँने
त्यो शीतल बतास हौ तिमी
आउने छौ,
फर्केर आउने छौ
बिर्सेर त्यो काँचको बरण्डामा
बिर्सेर त्यो मदर-टोएको काख
सम्झेर, यो माटेकौशीको आनन्द
सम्झेर, यो मूलघरको दलिन र आमाको माया
तिमी आउनेछौ
म पर्खिरहने छु त्यो पल ।

खोटाङ (हाल, काठमाडौँ)

(yamprasadb33@gmail.com)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...