Admission Open

सृजना कप छात्र/छात्रा भलिबल प्रतियोगिताको तयारी तिव्र

पोखरा : पोखरामा यहि चैत ४ गतेदेखि ७ गतेसम्म हुने सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा यहि शुक्रबारदेखि हुने प्रतियोगिताको तयारी तिव्र पारिएको हो

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विगत ४ वर्षदेखि हुँदै आएको प्रतियोगिताको यो चौथो संस्करण हो । प्रतियोगिताको तयारी स्वरुप अहिले टिम दर्ताको काम अन्तिम चरणमा पुगेको आयोजक कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । उनका अनुसार टीम दर्ताका लागि पहिल्यै स्कुल÷स्कुलमा पुगेर खबर गरिएअनुसार अहिले उनीहरुले टीम दर्ता गरिरहेका छन् । भोलि बुधबारसम्म टीम दर्ता गर्न सकिने अध्यक्ष पराजुलीले जानकारी दिए ।

टीम दर्ताको काम सकिएलगत्तै बुधबार नै टाईसिट निकालिने सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए । ‘भोलिसम्म टीम दर्ता हुन्छ, टीम दर्ता सकिएलगत्तै भोलि नै हामी टाइसीट निकाल्छौं’–उनले भने ।

प्रतियोगिताको तयारी अन्तर्गत प्रतियोगिता हुने पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा मञ्च निर्माणको काम भइरहेको छ । त्यस्तै, भलिबल खेल मैदान तयार बनाउनेदेखि म्याट ओछ्याउनेलगायतका काम भइरहेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । त्यसबाहेक अतिथिहरुलाई निम्तो गर्ने, प्रचारप्रसारलगायतका कामलाईपनि तिव्र पारिएको उनले बताए ।

भलिबलको जग मानिने सामुदायिक विद्यालयमा भलिबल खेलमा पुर्नजागरण ल्याउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले सहभागिता जनाउनेछन् । सहभागिताका लागि कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सम्मिलित टिमले सहभागिता जनाउन सक्ने संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । ‘हामीलाई विश्वास छ, प्रतियोगिताले सामुदायिक विद्यालयमा खस्किएको भलिबल उकास्न भूमिका खेल्नेछ ।’

प्रतियोगितामा ५० टिमले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ ।

प्रतियोगितामा उपाधि बिजेता छात्र/छात्रा दुबै तर्फकालाई एक÷एक लाख, उपबिजेतालाई ५०/५० हजार र तृतीय हुने विद्यालयलाई ३०/३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५/५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर र उत्कृष्ट ब्लकरलाई १/१ थान भलिबल प्रदान गरिने अध्यक्ष पराजुलीले जानकारी दिए ।

दुई उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति, १० जनालाई ३ महिने डाइट सामग्री प्रदान गरिने

यसैबीच, प्रतियोगिताको उत्कृष्ट दुई खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक÷एक जना छात्र तथा छात्रालाई प्रदेशको युवा तथा खेलकुद मन्त्रालय र आयोजकको तर्फबाट एक÷एक जनालाई वर्षको छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने छात्र/छात्रा गरेर १० जनालाई ३ महिनाका लागि डाइट (पौष्टिक आहार) दिइने भएको छ । मन्त्रालयको ट्यालेण्ट हण्ट अन्तर्गत छात्रतर्फ ५ जना र छात्रातर्फ ५ जना गरि १० जनालाई ३ महिनाका लागि खेलाडीलाई चाहिने डाइट सामग्री प्रदान गर्ने युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (मनाङे)ले घोषणा गरेको अध्यक्ष पराजुलीले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...