Admission Open

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

कुशल भुर्तेलले लगातार दोस्रो खेलमा पनि बनाए अर्धशतक । भुर्तेलको अर्धशतकसँगै मलेसियामाथि नेपालको शानदार जित ।

काठमाडौं, ६ वैशाख ः नेपालमा भईरहेको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले नेपालले मलेसियालाई ९ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । गत वर्ष थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी–२० मा नेपाल मलेसियासँग पराजित भएको थियो ।

त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्दै मलेसियाले ११० रनको लक्ष्य दिएको थियो । ११० रनको लक्ष्य पछ्याएको नेपालले मात्र १२.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । कुशल भुर्तेल र आसिफ शेखको ओपनिङ जोडीले १०२ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए भने त्यसक्रममा कुशल एक्लैले अर्धशतक पूरा गरेका थिए । यो उनको लगातार दोस्रो अर्धशतक हो । कुशलले टी–२० अन्तर्राष्ट्रियको डेब्यू खेलमै नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका थिए ।

आसिफले विरनदिप सिंहको बलमा क्याचआउट हुनुअघि २९ बल खेल्दै ४ चौका र एक छक्का मद्दतमा ४२ रन जोडे । ४१ बलको सामना गरेका कुशल तीन चौका र पाँच छक्कासहित ६१ रनमा अविजित रहे भने दीपेन्द्र सिंह ऐरी ६ रनमा नटआउट रहे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६।५ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो । मलेसियाका लागि ओपनर सायद अजिजले सर्वाधिक २९ रन बनाए । २४ बल सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे । यस्तै शार्भिन निएन्डीले २० रन जोडे भने शाफिक शारिफले १५ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । मलेसियाले राम्रो सुरुवात गरेपनि नेपाली बलरले नियमित विकेट लिएपछि ठूलो स्कोर बन्न सकेन । नेपालको लागि पहिलो विकेट करण केसीले दिलाएका थिए । उनले दोस्रो ओभरको चौथो बलमा अनवर अरुद्दिनलाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराए ।

चौथो ओभरको तेस्रो बलमा मलेसियाका कप्तान अहमद फैज रनआउट भए । २ रन लिन खोज्दा उनलाई विकेटकिपर विनोद भण्डारी र करण मिलेर रनआउट गरेका थिए । सातौं ओभरको अन्तिम बलमा सोमपाल कामीले विरनदिपको विकेट लिए । अघिल्लो खेलमा नेदरल्याण्ड्सविरुद्ध ८७ रन बनाएका विरनदिप मात्र ६ रनमा आउट भए ।

एक एण्डमा निरन्तर विकेट जाँदा ओपनर सायद अजिजले अर्को एण्ड सम्हालिरहेका थिए । तर नेपालका कप्तान ज्ञानेन्द्र मल्ले उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई आठौं ओभरमा बलिङ गराए, जसले २७ रन बनाएका अजिज विकेट आयो । सन् २०१८ मा टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका दीपेन्द्रले यो पहिलो विकेट हो । अजिज आउट भएपछि शार्भिन मुनिएन्डी र विकेटकिपर शाफिक शारिफले मलेसियाको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए ।

११ औं ओभरको दोस्रो बलमा मलेसियाका शाफिक शारिफ १५ रन बनाएर आउट भए । उनलाई सन्दीपले बोल्ड गरे । त्यसपछि निरन्तर विकेट जाँदा मलेसिया कम स्कोरमै समेटियो । नेपालका लागि करण केसीले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछाने ३।५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए भने सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्लको नामा एकएक विकेट रह्यो । नेपालले अर्को खेल मंगलबार नेदरलयाण्ड्ससँग दोस्रो खेल खेल्नेछ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...