Admission Open

लोकतन्त्र रक्षाका लागि सुनसरी कांग्रेस सभापतिमा मेरो उम्मेदवारी : नेता भण्डारी

[ नदी जति बग्छ त्यसको बेगले नदीलाई शुद्ध बनाउँछ । नीति र विचारलाई जति बहस र छलफलमा ल्याउन सक्यो त्यति नै पार्टी मजवुत भएर जाने हो । पार्टी सफल बनाउन असल नेतृत्वको आवश्यकता र भूमिका हुन्छ । ]

पार्टीमा भएका विभेदलाई अन्त्य गर्नुछ । अस्वस्थ ढङ्गले निर्माण हुने गुट उप–गुटलाई निमिट्यान्न पार्नुछ । पार्टी जीवनका बेथिति विसङ्गतिलाई अन्त्य गर्नुछ । भ्रष्टाचार निर्मुल पार्नुछ । जातीय विभेद अन्त्य गरेर पार्टी सुदृढीकरण गर्नुछ । सर्वसाधारण जनतालाई लोकतान्त्रिक गणतन्त्रको अनुभूति दिलाउनुछ । दैनिक सेवा प्रवाहमा जनतासँग जोडिएर काम गर्नुछ ।

नेपाली कांग्रेसको चौधौं महाधिवेशन करिब करिब सङ्घारमा आइपुगेको छ । केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेसी नेता तथा कार्यकर्ता स्वघोषित उम्मेदवारीमा उत्रिएका छन् । यसै सेरोफेरोमा सुनसरी जिल्लाका वर्तमान जिल्ला सचिव केदार भण्डारीले जिल्ला सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । वर्तमान कांग्रेसको अवस्था, उम्मेदवारी लगायतका विषयमा केन्द्रित रहेर नेपालीमालाका सम्वाददाता  दीपक निरौलाले गरेको कुराकानीको सार :

सुनसरी जिल्ला सभापतिमा यहाँको दावेदारी हो ?

हो । मैले घोषणा नै गरिसकेँ ।

किन नि ? प्रदेश वा केन्द्रतिर जाँदा हुँदैन ?

म सुनसरी जिल्लामा लामो समयदेखि हाम्रो पार्टी नेपाली कांग्रेसलाई गतिशील बनाउन विभिन्न भूमिकामा रहँदै आएको छु । कानुनको विद्यार्थी भएको हुँदा मेरो पेशा कानुन व्यवसायी हो । म अधिवक्ता हुँ । सुनसरी जिल्ला बार एसोसिएसनको पूर्व अध्यक्ष, प्रजातन्त्रवादी कानुन व्यवसायी संघ (डीएलए) को केन्द्रीय उपाध्यक्ष, नेपाल बार एसोसिएसनको केन्द्रीय उपाध्यक्ष भएर आएको हुँ । त्यसका साथै नेपाली कांग्रेसको सुनसरी जिल्लामा दुई पटक निर्वाचित भएर अहिले दोस्रो कार्यकालको अन्तिम चरणमा छु ।

पार्टीमा रहेका विकृति र विसंगतिका विरुद्ध आवाज उठाउनका लागि मैले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको हुँ । संगठनमा गर्न बाँकी अधुरा कामलाई पूर्णता दिनु जरुरी छ ।

सुनसरी जिल्लामा रहेका कांग्रेसका संगठित सदस्यहरूलाई एकतावद्ध गराएर संगठनलाई सुदृढ बनाउनु मेरो लक्ष्य हो । पार्टीमा रहेका विकृति र विसंगतिका विरुद्ध आवाज उठाउनका लागि मैले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको हुँ । संगठनमा गर्न बाँकी अधुरा कामलाई पूर्णता दिनु जरुरी छ । जिल्लाका सम्पूर्ण कांग्रेसी अग्रज तथा मित्रजनको शुभेच्छा नै मेरो उम्मेदवारीको प्रमुख कारण हो । हिमाल पुग्न हिँडेको गाई हिमाल नपुगी थाक्दैन भनेझैँ आगामी दिनमा प्रदेशदेखि लिएर केन्द्रसम्मको यात्रामा निस्कन मैले आफूलाई परिपक्क बनाउँदै लगेको छु । मेरो राजनीतिक तथा व्यवसायिक यात्रा चरणबद्ध छ । म ग्रासरुटबाटै उठेको एक बफादार कांग्रेसी कार्यकर्ता हुँ ।

प्रतिस्पर्धी त अरू पनि होलान् नि ?

कांग्रेस भनेको वृहत् प्रजातान्त्रिक पार्टी हो । अर्को शब्दमा भन्दा यो एक महासागर हो । महासागर त्यतिकै बन्दैन । यसमा अन्य आकाङ्क्षी हुनु अस्वभाविक होइन । अन्य अर्थमा लिन मिल्दैन ।
सुनसरी जिल्लामा दुई कार्यकाल सचिवको भूमिकामा रहँदा के–के काम गर्नुभयो ?
सुनसरी जिल्लाबाट गत निर्वाचनमा प्रतिनिधि सभाका पाँचवटा क्षेत्रमध्ये तीनवटा क्षेत्रमा, प्रदेशसभामा तीनवटा र स्थानीय तहमा १२ वटा मध्ये नौवटा पालिका र जिल्ला समन्वय समितिमा कांग्रेसले वर्चस्व कायम ग¥यो । यो अवस्थाले पनि हाम्रो पार्टीको छवि र गरिमालाई प्रतिविम्बित गर्दछ । माथि भनिएको नतिजा नै हाम्रो कामको मूल्याङ्कन हो । तर, सबै पूर्ण भने भएको अवस्था होइन । सुनसरी जिल्लालाई कांग्रेसमय बनाउनका लागि कमी, कमजोरीलाई सच्याउँदै सभापतिमा उम्मेदवारी घोषणा गरेको हुँ ।

कांग्रेसमा घात अन्र्तघात धेरै हुन्छ भन्ने कुरा सत्य हो ?

नदी जति बग्छ त्यसको बेगले नदीलाई शुद्ध बनाउँछ । पार्टीभित्र हुने विभिन्न प्रकारमा प्रतिस्पर्धाहरुले पार्टी सुदृढीकरणमा योगदान नै गर्छन् भन्ने लाग्छ । यसलाई घात र अन्तर्घात भन्न मिल्दैन । नीति र विचारलाई जति बहस र छलफलमा ल्याउन सक्यो त्यति नै पार्टी मजवुत भएर जाने हो ।

जिल्ला सभापतिमै तपाईंको उमेदवारी चाहिँ किन ?

यसका केही कारणहरु छन् । नेपाली कांग्रेसलाई चुस्त दुरुस्त बनाउनुछ । पार्टीमा भएका विभेदलाई अन्त्य गर्नुछ । अस्वस्थ ढङ्गले निर्माण हुने गुट उप–गुटलाई निमिट्यान्न पार्नुछ । पार्टी जीवनका बेथिति विसङ्गतिलाई अन्त्य गर्नुछ । भ्रष्टाचार निर्मुल पार्नुछ । जातीय विभेद अन्त्य गरेर पार्टी सुदृढीकरण गर्नुछ । सर्वसाधारण जनतालाई लोकतान्त्रिक गणतन्त्रको अनुभूति दिलाउनुछ । दैनिक सेवा प्रवाहमा जनतासँग जोडिएर काम गर्नुछ । त्यसैले चौधौँ महाधिवेशनका लागि मैले सभापतिमा उम्मेदवारी दिएको हुँ ।

गुट, उप–गुटको कुरा गर्नुभयो । तपाईँ चाहिँ कुन गुटको ? गुट, उप–गुट सही हो ?

म नेपाली कांग्रेस गुटको व्यक्ति हुँ । पार्टीलाई क्रियाशील बनाउन विभिन्न विचारहरू आउँछन् । गतिशीलताको लागि गुट, उपगुट हुनु त्यति अस्वभाविक हो । पार्टीमा असल विचारको अवलम्वन हुनुपर्छ । तर व्यक्तिगत स्वार्थसिद्ध गर्नका लागि गुटको प्रयोग गर्नु हँुदैन । गुट मौलाउन दिनुचाहिँ नराम्रो हो ।

अन्त्यमा नेपालीमाला अनलाईन पत्रिकामार्फत के भन्न चाहनुहुन्छ ?

मेरा सम्पूर्ण अग्रज तथा साथीभाइलाई नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको महान अवसरमा उत्साहपूर्वक सहभागी भइदिनुहुन विनम्र अनुरोध गर्दछु । लोकतन्त्र रक्षाका लागि असल नेतृत्व आवश्यक छ । त्यस्तो नेतृत्व चयन गर्न तथा त्यस कार्यमा सहयोग गर्न सम्वन्धित सबैमा हार्दिक अपिल गर्दछु । यस पटकको निर्वाचनमा नेतृत्व दिन सक्ने असल कांग्रेसीजनलाई नेतृत्व तहमा पु¥याउन सकिएन भने अधिवेशन केवल औपचारिकतामा सीमित रहने छ । यसरी पार्टी सफल हुँदैन । पार्टी सफल बनाउन असल नेतृत्वको आवश्यकता र भूमिका हुन्छ । सम्पूर्ण जिल्लावासी कांग्रेसीजनले उहाँहरुकै सुखदुःखको सहयात्री म केदार भण्डारीलाई विश्वास गर्नुहुनेछ । म यो कुरोमा विश्वस्त छु ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...