काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।
पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिमले फाइनल पुग्न अर्को अवसरका रूपमा दोस्रो क्वालिफायर खेल्न लागेको हो। चितवनले भने बुधबार भएको इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो।
लिग चरणको भेटमा सुदूरपश्चिमले चितवनलाई ५ विकेटले पराजित गरेको थियो। त्यसैले चितवनलाई पुनः हराउँदै फाइनलमा लुम्बिनीसँगको भेट पक्का गर्ने लक्ष्यमा सुदूरपश्चिम हुनेछ। यता चितवन भने अघिल्लो हारको बदला लिँदै पहिलोपटक उपाधि नजिक पुग्ने दाउमा हुनेछ।



