Admission Open

ad place

अस्ट्रेलियामा नेपालीको गौरव : पीजय श्रेष्ठलाई एसीयूको ग्लोबल कनेक्सन अवार्ड

काठमाडौं । नेपाली मूलका अस्ट्रेलियन उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पीजय) श्रेष्ठले अस्ट्रेलियाको अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’ प्राप्त गरेका छन्। उनको यो उपलब्धिले अस्ट्रेलियामा नेपाली समुदायको पहिचान र योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गरेको छ।

श्रेष्ठलाई अस्ट्रेलिया र नेपालबीच व्यावसायिक सम्बन्ध विस्तार, सांस्कृतिक समझदारी, सामुदायिक एकता तथा अन्तर्राष्ट्रिय सहकार्यमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो।

सन् २०१५ मा एसीयूबाट कमर्समा स्नातक गरेका श्रेष्ठ डिजिटल कन्सल्टिङ भेन्चर्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन्। व्यवसायसँगै उनी सामाजिक अभियान, युवा नेतृत्व विकास र नेपाली समुदायको हितका लागि सक्रिय रहँदै आएका छन्।

TVS_Golden key

उनको राजनीतिक यात्रा पनि उल्लेखनीय छ। सन् २०१९ मा उनी अस्ट्रेलियाको संघीय निर्वाचनमा प्रमुख राजनीतिक दल लिबरल पार्टीबाट उम्मेदवार बन्ने नेपाली मूलका पहिलो व्यक्ति बनेका थिए। तत्कालीन प्रधानमन्त्री स्कट मरिसनको निर्वाचन अभियान टोलीअन्तर्गत उनले उम्मेदवारी दिएका थिए।

श्रेष्ठको योगदान अस्ट्रेलियाको राजनीतिक तथा सामुदायिक वृत्तमा समेत प्रशंसित छ। सन् २०२४ मा उनलाई ‘४० अन्डर ४० मोस्ट इन्फ्लुएन्सियल एसियन–अस्ट्रेलियन’ सम्मानका लागि सामुदायिक तथा पैरवी विधामा अन्तिम चरणको उम्मेदवारका रूपमा छनोट गरिएको थियो।

नेपालमा सन् २०२६ मा आएको बाढीका बेला पनि उनले उद्धार तथा पुनःस्थापनाका लागि स्रोत परिचालन र अस्ट्रेलियामा रहेका नेपाली परिवार तथा सहयोगीबीच समन्वय गरेका थिए। उनको यो योगदानलाई अस्ट्रेलियाका सिनेटर एन्ड्र्यु ब्रागले सेप्टेम्बर ८ मा सिनेटमा र न्यु साउथ वेल्सको संसद्का सदस्य मार्क काउरेले सेप्टेम्बर १५ मा संसद्मा उल्लेख गर्दै प्रशंसा गरेका थिए।

अवार्ड प्राप्त गरेपछि श्रेष्ठले आफ्नो शैक्षिक यात्रालाई स्मरण गर्दै विश्वविद्यालयका प्राध्यापक तथा करियर टोलीले आफूभित्रको क्षमता पहिचान गर्न सहयोग गरेको बताएका छन्। ‘मैले आफैंमा विश्वास गर्नुअघि नै उहाँहरूले ममाथि विश्वास गर्नुभएको थियो,’ उनले एसीयूको प्रकाशन ‘इम्प्याक्ट’ सँग भनेका छन्।

श्रेष्ठको यो सम्मान व्यक्तिगत सफलतामा मात्र सीमित छैन। यसले अस्ट्रेलियामा रहेर पनि आफ्नो मातृभूमिसँगको सम्बन्ध, नेपाली समुदायप्रतिको जिम्मेवारी र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन सक्रिय नेपालीहरूको योगदानलाई समेत सम्मान गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...