
काठमाडौं । नेपाली हिपहप संगीतलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित भारतीय चर्चित र्याप रियालिटी कार्यक्रम ‘एमटीभी हसल’को नेपाली संस्करण ‘हसल बाई नेपहप’ नेपालमा आयोजना हुने भएको छ। उक्त कार्यक्रमको मुख्य प्रायोजकका रूपमा टीभीएस एनटर्क आबद्ध भएको छ।
मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको ‘हसल बाई नेपहप’ टीभीएस एनटर्क प्रस्तुत कार्यक्रमका रूपमा सञ्चालन हुनेछ। कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने यस कार्यक्रमलाई नेपाली दर्शकमाझ स्तरीय र्याप सांगीतिक प्रतिस्पर्धाका रूपमा स्थापित गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
अन्तर्राष्ट्रिय स्तरको र्याप प्रतिस्पर्धाको अवधारणामा आधारित भए पनि कार्यक्रमले नेपाली मौलिकता, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपालको आफ्नै हिपहप पहिचानलाई मुख्य प्राथमिकतामा राख्नेछ। नेपाली कलाकारका कथा, संघर्ष र सिर्जनशीलतालाई राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य कार्यक्रमले लिएको छ।
कार्यक्रममा प्रतिस्पर्धा, मार्गदर्शन तथा उत्कृष्ट सांगीतिक प्रस्तुतिलाई विशेष प्राथमिकता दिइनेछ। स्थापित र्यापरदेखि नयाँ पुस्ताका उदाउँदा प्रतिभासम्मले आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर पाउनेछन्।
नेपाली युवापुस्तामाझ लोकप्रिय बन्दै गएको हिपहप संस्कृतिलाई थप प्रोत्साहन गर्ने उद्देश्यले टीभीएस एनटर्कले कार्यक्रमसँग सहकार्य गरेको हो। युवापुस्ताको ऊर्जा, आत्मविश्वास, सिर्जनशीलता र नयाँ सोचसँग जोडिएको टीभीएस एनटर्कको ब्रान्ड पहिचानलाई नेपाली हिपहप संस्कृतिसँग जोड्ने प्रयासका रूपमा यस सहकार्यलाई हेरिएको छ।
‘गल्लीदेखि गौरवसम्म’ भन्ने मूल भावनासहित अघि बढ्ने ‘हसल बाई नेपहप’ले नेपाली हिपहप प्रतिभालाई ठूलो राष्ट्रिय मञ्च उपलब्ध गराउने अपेक्षा गरिएको छ। यसले नेपाली संगीत क्षेत्रमा नयाँ प्रतिभाको पहिचान, प्रवर्द्धन र अवसर विस्तार गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
कार्यक्रमको प्रसारण मिति, सहभागी छनोट प्रक्रिया, निर्णायक तथा मार्गदर्शकसम्बन्धी थप विवरण चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।
नेपाली हिपहपलाई स्थानीय पहिचानबाट राष्ट्रिय मञ्चसम्म पुर्याउने लक्ष्यसहित आउन लागेको यस कार्यक्रमले नेपाली संगीत क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।



