
काठमाडौं, असार १८ : महिलाको सुरक्षित तथा सहज सार्वजनिक आवागमनलाई प्राथमिकता दिँदै सरकारले आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ। पहिलो चरणमा उपत्यकाका विभिन्न मुख्य रुटमा आठ वटा बस सञ्चालन गर्ने योजना बनाइएको छ।
यो सेवा सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूची अन्तर्गत महिलाको सुरक्षित यात्रालाई सुनिश्चित गर्ने उद्देश्यले अघि बढाइएको कार्यक्रम हो। यसअन्तर्गत क्रमशः सातै प्रदेशमा निःशुल्क ‘ब्लू बस’ सेवा विस्तार गर्ने सरकारको लक्ष्य रहेको छ।
पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार पहिलो १०० दिनभित्र कुल २५ वटा बस सञ्चालनमा ल्याउने योजना रहेको छ। सेवा सञ्चालनका लागि साझा यातायातले आवश्यक राय तथा सहमतिका लागि अर्थ मन्त्रालयसँग पत्राचार गरिसकेको छ। मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि निर्धारित तालिकाअनुसार साउन १ गतेदेखि सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइनेछ।
प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा तथा थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई वटा बस सञ्चालन गरिनेछ। त्यसैगरी चक्रपथ (रिङरोड) क्षेत्रमा चार वटा बस सञ्चालन गर्ने योजना छ। तीमध्ये दुई वटा बस क्लकवाइज र दुई वटा एण्टिक्लकवाइज दिशामा गुड्नेछन्।
मन्त्रालयका अनुसार सेवा सञ्चालनको उद्देश्य महिलालाई सुरक्षित, भरपर्दो र सहज सार्वजनिक यातायात उपलब्ध गराउनुका साथै शहरी सार्वजनिक यातायात व्यवस्थापनलाई थप प्रभावकारी बनाउनु पनि हो।


