Admission Open

ad place

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छाया

नयाँदिल्ली, ३१ वैशाख (रासस/एएफपी) : इरान युद्धका कारण चर्किएको ऊर्जा सङ्कट, अस्थिर तेल बजार र विश्वव्यापी आर्थिक अनिश्चितताबीच ब्रिक्स राष्ट्रका विदेशमन्त्रीहरू बिहीबार नयाँदिल्लीमा भेला भएका छन् । भारतले बैठकको उद्घाटन गर्दै वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति ‘गम्भीर उतारचढाव र पर्याप्त प्रभाव’ को चरणमा पुगेको चेतावनी दिएको छ ।

यस वर्ष ब्रिक्सको अध्यक्षता गरिरहेको भारतले विस्तारित समूहका विदेशमन्त्रीहरूको दुई दिने बैठक आयोजना गरेको हो । भेलामा इरान, रुस, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सलगायत सदस्य राष्ट्र सहभागी छन् । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको युद्धका कारण उत्पन्न तनावले बैठकको मूल एजेन्डालाई प्रभाव पारेको छ ।

भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले उद्घाटन सत्रमा विश्व अहिले अस्थिर राजनीतिक र आर्थिक मोडबाट गुज्रिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अन्तर्राष्ट्रिय सम्बन्धमा उल्लेखनीय उतारचढावको समयमा भेटिरहेका छौँ । चलिरहेका द्वन्द्व, आर्थिक अनिश्चितता तथा व्यापार, प्रविधि र जलवायुका चुनौतीहरूले विश्वव्यापी परिदृश्यलाई नयाँ ढङ्गले आकार दिइरहेका छन् ।”

उहाँले विशेषगरी विकासोन्मुख राष्ट्रहरूले ब्रिक्सप्रति बढी अपेक्षासहित हेरिरहेको उल्लेख गर्नुभयो । जयशङ्करका अनुसार उदीयमान अर्थतन्त्रहरू अहिले विश्व व्यवस्थामा स्थिरता र रचनात्मक भूमिकाको खोजीमा छन् ।

भेलामा इरानका विदेशमन्त्री अब्बास अराघची र रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभको उपस्थिति विशेष अर्थपूर्ण मानिएको छ । अमेरिका–इजरायल र इरानबीचको युद्धले मध्यपूर्वमा तनाव बढाइरहेका बेला ब्रिक्स राष्ट्रहरूबीच साझा धारणा निर्माण गर्न कठिन देखिएको विश्लेषण गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...