
काठमाडौं : नेपाल टेलिकमले समर अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक भ्वाइस तथा डेटा प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले आफ्ना सेवाग्राहीलाई लक्षित गर्दै नयाँ–नयाँ सुविधा थप गरी प्याकेजहरू परिमार्जनसहित ल्याएको जनाएको छ।
टेलिकमका अनुसार यसअघि उपलब्ध २८ दिनको प्याकेजलाई सेवाग्राहीको मागअनुसार अब ३० दिनसम्म विस्तार गरिएको छ। साथै, सस्तो दरमा अन–नेट (नेटवर्कभित्र) र अफ–नेट (अन्य नेटवर्क) कल सुविधा दिने प्याकेजहरू पनि समावेश गरिएको छ।
नयाँ अफरअन्तर्गत अनलिमिटेड भ्वाइस प्याकेज, दैनिक तथा मासिक डेटा प्याकेजहरू, साथै एसएमएस सेवासहितका विभिन्न विकल्पहरू उपलब्ध गराइएको छ। उदाहरणका लागि, निश्चित शुल्कमा अनलिमिटेड अन–नेट भ्वाइस, दैनिक डेटा सुविधा तथा एसएमएस सुविधा समेटिएका प्याकेजहरू प्रयोगकर्ताले रोज्न सक्नेछन्।
यसैगरी, कम्पनीले विभिन्न दरका डेटा प्याकेजहरू पनि सार्वजनिक गरेको छ, जसमा दैनिक प्रयोगदेखि मासिक उच्च डेटा उपभोग गर्ने ग्राहकलाई लक्षित योजना समावेश छन्। अनलिमिटेड डेटा विकल्पदेखि सस्तो दरमा उपलब्ध डेटा प्याकेजहरू यस अफरका मुख्य आकर्षण हुन्।
नेपाल टेलिकमका अनुसार समर अफर २०८३ बैशाख ११ गतेदेखि लागू भइसकेको छ। ग्राहकहरूले *1415# डायल गरेर वा कम्पनीको वेबसाइटमार्फत यी प्याकेजबारे जानकारी लिन तथा सेवा सक्रिय गर्न सक्नेछन्।
कम्पनीले यो अफरमार्फत ग्राहकलाई सुलभ, लचिलो र किफायती दूरसञ्चार सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।


