
काठमाडौं : टीभीएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक साझेदार जगदम्बा मोटर्स प्रालिले नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले अपाचे ट्र्याक एक्सपेरियन्स (एटीई) कार्यक्रममार्फत नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो।
टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत (सीओओ) दीपेन्द्र मिश्रले संयुक्त रूपमा मोटरसाइकल अनावरण गरेका हुन्।
नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडीलाई रिफाइन्ड इन्जिन, सहज प्रदर्शन र आधुनिक प्रविधिको संयोजनका रूपमा बजारमा ल्याइएको कम्पनीले जनाएको छ। मोटरसाइकलमा एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टीभीएस स्मार्टएक्सकनेक्टसहितको टीएफटी डिस्प्ले, ड्युअल च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टम उपलब्ध छन्।
टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बालीका अनुसार नयाँ मोटरसाइकलको मुख्य विशेषता यसको रिफाइन्ड इन्जिन र सहज प्रदर्शन हो। आधुनिक प्रविधि तथा सुरक्षा प्रणालीले राइडरलाई थप सुविधाजनक र सुरक्षित यात्रा अनुभव प्रदान गर्ने उनको भनाइ छ।
मोटरसाइकलमा सडकको अवस्था र राइडरको आवश्यकताअनुसार छनोट गर्न सकिने तीनवटा राइड मोड उपलब्ध छन्। दैनिक यात्राका लागि अर्बन मोड, थप रोमाञ्चक प्रदर्शनका लागि स्पोर्ट मोड र प्रतिकूल सडक अवस्थालाई ध्यानमा राखेर ट्र्याक्सन कन्ट्रोल सिस्टमसहितको रेन मोड राखिएको कम्पनीले जनाएको छ।
नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी ग्रेनाइट ग्रे र म्याट ब्ल्याक गरी दुई रङमा उपलब्ध हुनेछ। नेपाली बजारमा यसको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।
कम्पनीका अनुसार नयाँ मोटरसाइकल नेपालभर रहेका टीभीएसका आधिकारिक शोरुममार्फत खरिद गर्न सकिनेछ। नयाँ मोडलले नेपाली बजारमा प्रदर्शन, सुरक्षा र आधुनिक प्रविधिको संयोजन खोज्ने मोटरसाइकल पारखीलाई लक्षित गरेको कम्पनीको भनाइ छ।


