नयाँ दिल्ली (भारत), ७ मङ्सिर । भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता हुँदैछ। नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ बजेका लागि भेटवार्ताको समय तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। विशेषगरी दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध, विकास साझेदारी, पूर्वाधार निर्माण र आपसी सहयोगका विषयमा कुराकानी हुने जनाइएको छ।
भेटवार्तापछि नेपाल र भारतबीच विभिन्न महत्वपूर्ण विषयमा सहमति तथा सम्झौता हुने कार्यक्रम रहेको छ। साथै, प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा केही विकास आयोजनाको उद्घाटन गर्नुहुनेछ। त्यसपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यसैगरी, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा आयोजना गर्नुभएको दिवाभोजमा पनि उहाँ सहभागी हुनुहुनेछ। उक्त भेटघाटलाई दुई देशबीचको उच्चस्तरीय कूटनीतिक संवाद र आपसी सम्बन्धलाई थप अघि बढाउने अवसरका रूपमा हेरिएको छ।
प्रधानमन्त्री शाहले आजै भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत रहेको छ। त्यसअघि उहाँले नयाँ दिल्लीस्थित राजघाट पुगेर भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नुहुनेछ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारकर्मी सहभागी छन्।
नेपाल र भारतबीच भौगोलिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध रहँदै आएको छ। खुला सीमा, जनस्तरको आवतजावत, व्यापार, पारवहन, ऊर्जा तथा विकास सहकार्य दुई देशबीचको सम्बन्धका महत्वपूर्ण आधार हुन्। यस पृष्ठभूमिमा प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको विद्यमान सम्बन्ध र सहयोगका क्षेत्रबारे उच्चस्तरमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।
दुईदिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री शाह आजै स्वदेश फर्कने कार्यतालिका रहेको छ।



