
काठमाडौँ : खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ (साविक लफ्याङ गाविस ४, बास्तोला गाउँ) निवासी भलिबल खेलाडी, निर्णायक तथा प्रशिक्षक जितेन राईलाई अन्तर्राष्ट्रिय भलिबल प्रशिक्षक प्रशिक्षणमा सहभागी हुन श्रीलंका प्रस्थान गर्ने अवसरमा खोटाङ सेवा समाजले आर्थिक सहयोग प्रदान गरेको छ।

राई आगामी दिनमा श्रीलंकाको राजधानी कोलम्बोमा सञ्चालन हुने एफआइभिबी (FIVB) भलिबल प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नेपालबाट सहभागी हुन लागेका हुन्। प्रशिक्षणमा सहभागिताका लागि प्रस्थान गर्न लागेका राईलाई खोटाङ सेवा समाज तथा विभिन्न सहयोगी दाताहरूको सहकार्यमा संकलित रु। ४० हजार ५ सय ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको समाजले जनाएको छ। समाजका अनुसार उक्त रकम विभिन्न खोटाङे दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोग र हातेमालोबाट संकलन गरिएको हो। समाजले राईको श्रीलंकाको बसाइ सहज, सफल तथा उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गर्दै प्रशिक्षणबाट प्राप्त ज्ञान, अनुभव र सीपले नेपाली भलिबल खेलको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

खोटाङ सेवा समाजले खेलकुदमार्फत जिल्लाको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन राईले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा समेत गरेको जनाएको छ। सहयोग रकम संकलनमा देबराज कटुवालले रु. १० हजार, योगेन्द्र कार्कीले रु. ६ हजार, खोटाङ सेवा समाजले रु. ५ हजार, विशाल भट्टराईले रु. ४ हजार तथा देवान राई र भवानी लुईटेलले जनही रु. २ हजार सहयोग गरेका छन्। त्यसैगरी प्रेम बस्नेतले
रु. १ हजार ५ सय, कल्पना राई, रामकुमार पुरी, भक्त थापा, ईन्द्रबहादुर लिम्बु, दीपक प्रसाद दाहाल, जगत प्रसाद घिमिरे र नवराज रोकाले जनही रु. १ हजार सहयोग प्रदान गरेका छन्।

यस्तै यमप्रसाद बास्तोलाले रु. ५ सय ५५ तथा कोपिला राई, बिन्दाकुमारी आचार्य, गोविन्दप्रसाद आचार्य, कृष्णकुमारी राई र वीरबहादुर तामाङले जनही रु. ५ सय सहयोग प्रदान गरेका छन्। समाजका सचिव नवराज रोकाका अनुसार विभिन्न सहयोगी मनहरूको योगदानबाट संकलित कुल रु. ४० हजार ५ सय ५५ रकम राईलाई हस्तान्तरण गरिएको हो।

यसैबीच, श्री माध्यमिक विद्यालय बाँस्बोटे तथा विद्यालय परिवारले पनि आफ्ना पूर्व विद्यार्थी तथा भलिबल खेलाडी–प्रशिक्षक राईलाई सफल यात्रा र प्रशिक्षणका लागि शुभकामना व्यक्त गरेको छ। विद्यालयले राईले खेलकुदमार्फत विद्यालय, जिल्ला र राष्ट्रको गौरव बढाएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको जनाएको छ।


