Admission Open

ad place

भरतपुरका कृषकलाई व्यवसायीकरण गर्न बाख्रा र हाँसको चल्ला वितरण

चितवन : भरतपुर महानगरपालिकाले निर्वाहमुखी पशुपालन कार्यक्रमलाई तीव्र पारेको छ । अभियानकै क्रममा शनिबार पनि भरतपुर महानगरपालिका–२२ का घरपरिवारलाई बाख्रा र हाँस वितरण गरिएको छ ।

१९ जना कृषकलाई ५० वटा दरले हाँस र २० जनालाई २ वटाका दरले बाख्रा र २ वटा बोका वितरण गरिएको हो । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई २ वटाका दरले बाख्रा वितरण गरिएको बताइएको छ ।

महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै न्युन आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताएकीछिन् । २०८० सालदेखि नै निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने अभियान यो बर्ष पनि निरन्तरता दिएको प्रमुख दाहालले जानकारी दिइन् ।

यो कार्यक्रममार्फत बाख्रा, बङ्गुर, कुखुरा र हाँस वितरण गरिनेछ । राम्रो प्रतिफल दिने किसानलाई पुरस्कृत गरिने र १७ समूहलाई रु दुई लाखका दरले वितरण गरिने उनको भनाई छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष विष्णुराज महत्तोले कृषिको व्यावसायीकरणको क्रममा ठूला कृषक समेटिने तर न्युन आय भएका कृषक नसमेटिने भएकाले बाख्रा वितरण कार्यक्रम ल्याइएको बताए । बाख्रा र हाँस पाएपछि कृषकहरु खुसी भएको वडाध्यक्ष महत्तो बताउँछन् ।

नव महिला कृषक समूहका अध्यक्ष कृष्णकुमारी महत्तोले हाँस बेचेर छोराछोरीको पढाईमा खर्च गर्ने बताइन् । निर्वाहमुखी कृषि कर्म गर्ने कृषकलाई महानगरको यो सहयोगले जीवनस्तरमा परिवर्तन ल्याउने उनको विश्वास छ । गतवर्ष जेठमा यहाँकै १५ घरपरिवारलाई बाख्रा वितरण गरिएको महानगरपालिकाले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...