Admission Open

ad place

अध्ययनको लागि ‘एडिज’ लामखुट्टेको लार्भा जापान पठाइँदै

काठमाडौँ, १४ साउन / कञ्चनपुरमा अध्ययनका लागि डेंगु सार्ने एडिज लामखुट्टेको लार्भा सङ्कलन गरी प्रयोगशालमा राखिएको छ। सुदूरपश्चिम प्रदेशको ‘इन्टोमोलोजी टिम’ले भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर बजार क्षेत्रबाट डेंगु, चिकनगुनिया, जिन्क एलोफिवर सार्ने एडिज लामखुट्टेका लार्भा सङ्कलन गरी प्रयोगशालामा राखेको हो।

लार्भा वयस्क लामखुट्टे भएपछि त्यसमा डेंगु भाइरसको संक्रमणबारे अध्ययन गरिनेछ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका ‘भेक्टर कन्ट्रोल’ अधिकृत हेमराज जोशीका अनुसार विगत वर्षमा नेपालका ७७ वटै जिल्लामा डेंगु फैलिएको थियो। यसैबेलादेखि डेंगु सार्ने एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस लामखुट्टे सक्रमित भएका थिए।

ती संक्रमित लामखुट्टेका लार्भा अहिले पानी परेपछि वयस्क हुने क्रममा रहेका छन्। ‘वयस्क हुन खोजेका लामखुट्टेको लार्भामा संक्रमण छ कि छैन भन्नेबारे अध्ययन गर्न सङ्कलन गरेका छौँ,’ उनले भने, ‘यस प्रकारको अध्ययन नेपालमा सम्भव नभएकाले जापानको भाइरोलोजीसम्बन्धी प्रयोगशालासँग समन्वय गरी अध्ययन गरिने भएको छ।’

निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीका अनुसार डेंगु भाइरसको कारणले लाग्ने गर्छ। विभिन्न चार प्रकारको भाइरसले मानिसलाई डेंगुबाट संक्रमित गराउन सक्छ।

यो भाइरस एक जना मानिसबाट अर्को मानिसमा सार्ने काम संक्रमित एडिज लामखुट्टेले गर्छ। एडिज एजिप्टाई र एडिज आल्बोपिक्टस लामखुट्टेले रोग सार्ने तथ्य प्रमाणित भएको उनको भनाइ छ।

‘एडिज एजिप्टाई र एडिज आल्बोपिक्टसले डेंगु रोग सार्नका लागि लामखुट्टे डेंगु भाइरसबाट संक्रमित हुनुपर्दछ,’ उनले भने, ‘लामखुट्टे संक्रमित हुनका लागि कुनै डेंगु रोग लागेको मानिसलाई टोक्नुपर्ने हुन्छ, एकपटक वयस्क लामखुट्टे डेंगु भाइरसबाट संक्रमित भएपछि त्यसबाट जन्मिने बच्चामा स्वतः संक्रमण आउने गरेको कुरा विभिन्न विद्वानहरूले पत्ता लगाएका छन्।’

यही संक्रमण पत्ता लगाउन लामखुट्टेको लार्भा  सङ्कलन गरेर वयस्क लामखुट्टेमा संक्रमण छ कि छैन भनी सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गत स्थापना गरिएको इन्टोमोलोजी प्रयोगशालाले अध्ययन सुरु गरेको उनको भनाइ छ।

एडिज एजिप्टाई र एडिज आल्बोपिक्टस लामखुट्टेको अण्डाहरू ९ महिनाभन्दा लामो समयसम्म सुक्खा भाँडोमा पनि बाँच्न सक्ने अध्ययनले देखाएको छ। घर र कार्यालय वरिपरि पानी जम्ने भाँडामा एडिज एजिप्टाईले फुल पार्छ ।

वयस्क लामखुट्टेले मानिसलगायत अन्य प्राणीको रगत चुस्ने गर्छ। रगत चुस्ने क्रममा नै मानिसलाई रोगको संक्रमण सर्छ। सुदूरपश्चिम प्रदेशसँगै देशका अधिकांश प्रदेशमा डेंगुको संक्रमण प्रत्येक वर्ष देखिने गरेको छ।

रोग फैलिन नदिनका लागि सफा पानीमा हुर्कने डेंगु सार्ने लामखुट्टेका लार्भा नष्ट गर्नुपर्ने हुन्छ। असारदेखि असोज महिनासम्म डेंगु रोगको संक्रमण बढ्न सक्ने उच्च जोखिम रहने गर्छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशका ९ वटै जिल्लामा पछिल्लो समय डेंगुबाट ३१८ जना संक्रमित भएका छन्। सबैभन्दा बढी दार्चुलामा १९०, कञ्चनपुरमा ५२, अछाममा ३१ र कैलालीमा २३ जनामा डेंगुका बिरामी पाइएका छन्। (रासस )

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...