Admission Open

चिजन्सको शैक्षिक प्रदर्शनी: बालबालिकाले बनाए रोबर्टदेखि चिल्ड्रेन पार्कसम्म


इटहरी : इटहरीमा अवस्थित चिजन्स प्यालेस स्कुलले शैक्षिक प्रदर्शनी गरिएको छ । विद्यार्थीहरुलाई घोकन्ते विद्याभन्दा प्रयोगात्मक शिक्षामा जोड दिँदै ब्यावहारिक ज्ञान प्रदान गर्नका लागि उक्त प्रदर्शनी गरिएको विद्यालयकी प्रिन्सिपल ग्रेस आचार्यले बताइन् । उनका अनुसार प्रदर्शनीमा प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुको सहभागी रहेको थियो । दिनको ११ बजेदेखि ३ बजेसम्म संचालन भएको शैक्षिक प्रदर्शनीमा उक्त स्कुलमा अध्ययनरत विद्यार्थीका अभिभावक सहित विराटनगर, इनरुवा, झुम्का, तरहरादेखि इटहरी आसपासका विद्यालयका विद्यार्थी समेत प्रदर्शनी अवलोकन गर्न आएका थिए ।

प्यारेन्स डे आयोजना गरेर रमाईलो र नाचगान मात्रै गर्ने परम्परालाई तोड्दै प्यारेन्स डे नगरी विद्यार्थीहरुको अतिरिक्त प्रतिभालाई उजागर गर्ने जमर्को गरेको र प्रदर्शन पश्चात् केहि हदसम्म सफल भएको प्रिन्सिपल आचार्यको भनाई छ । प्रदर्शनीमा रोबोट, फाउन्टेन, चिल्ड्रेन पार्क जस्ता सामग्रीहरु स्कुलको सहयोगमा विद्यार्थीहरुले तयार गरेका थिए । यो संगै ज्ञान वृद्धिका लागि अन्य विभिन्न कुराहरु समेत प्रदर्शनीमा देख्न सकिन्थ्यो । यता पुर्खाहरुले दैनिक जीवनमा प्रयोग गर्ने सामाग्री जस्तैः घ्यू राख्ने हर्पे, तेल राख्ने चौंठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी, जातो, थुम्से लगायत परम्परागत खानाका परिकारहरु पनि तयार पारिएको थियो । उपस्थित पाहुना तथा अभिभावकहरुले उक्त खानाका स्वाद लिएका थिए ।

चिजन्स प्यालेस स्कुलमा विद्यार्थीलाई निर्धारित पाठ्यक्रममा मात्र सीमित नराखी अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराएर ज्ञान दिलाउने गरिएको छ । वर्षभरि अध्ययन गराएका कुराहरुलाई विद्यार्थीले कसरी सिके र व्यवहारमा कसरी प्रयोग गर्छन् भन्ने थाहा पाउनलाई पनि यो अवसर प्रदान गरिएको प्रदर्शनी संयोजक किरण दासले बताइन् । बालबालिका, अभिभावक तथा उपस्थित पाहुनाहरुलाई थप मनोरन्जन गराउने उद्देश्य सहित डान्सर तथा गायक तुलसी घिमिरेले गीत गाएका थिए । प्रदर्शनीको उद्घाटन निःसहाय आश्रम इटहरीकी सञ्चालिका गीता गौतमले गरेकी थिइन् । उनले विद्यालयले गरेको प्रदर्शनीबाट आफू निकै प्रभावित भएको बताइन् । प्रदर्शनीमा न्यून रकममा स:शुल्क विभिन्न खेलहरु समेत खेलाइएको थियो । त्यहाँबाट संकलित रकममा स्कुलले केही रकम थप गरेर इटहरीमा रहेको अनाथ आश्रममा रहेका बालबालिकालाई सहयोग गर्ने विद्यालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...