Admission Open

ad place

पोखरा महानगरद्वारा स्वरोजगार प्रवद्र्धनमा जोड

कास्की । सीप विकासमार्फत रोजगारी सिर्जना, स्वरोजगार प्रवद्र्धन गरी बेरोजगारी न्यूनीकरण गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले छ विधामा १२० जनालाई निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।
महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रम अनुसार वेटर/वेट्रेस, केयर गिभर, कुक, बारिस्टा, सहायक ब्युटिसियन र बाल विकास सहजकर्ता तालिम सञ्चालन गर्न लागेको हो ।
तालिममार्फत युवालाई बजारको मागअनुसारको व्यावसायिक सीप प्रदान गरी रोजगारीमा आबद्ध गराउनाका साथै आफैँ व्यवसाय सञ्चालन गर्न सक्षम बनाउने महानगरपालिकाको लक्ष्य छ । सीप र दक्षताको अभावमा रोजगारीका अवसरबाट वञ्चित हुनुपर्ने अवस्थालाई कम गर्न तालिमले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

TVS_Golden key

व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले सीपमूलक तालिमले व्यक्तिलाई रोजगारी खोज्ने मात्र नभई आफैँ रोजगारी सिर्जना गर्न सक्ने बनाउने बताए । उनका अनुसार बजारको मागअनुसारका सीप सिकाएर युवालाई स्वरोजगार तथा उद्यमशीलतातर्फ आकर्षित गर्नु तालिमको मुख्य उद्देश्य हो ।
“तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न सके सहभागीले विभिन्न सेवा क्षेत्रमा रोजगारी पाउनुका साथै आफ्नै व्यवसाय सुरु गर्न सक्ने र त्यसले बेरोजगारी न्यूनीकरणमा पनि योगदान पु¥याउने छ । विगतका वर्षहरुमा सञ्चालित यस्ता तालिम प्रभावकारी बनेका कारणले यस वर्ष पनि निरन्तरता दिएका हौँ,” प्रमुख कार्यकारी अधिकृत अधिकारीले भने ।
केन्द्रका अनुसार प्रत्येक विधामा २० जनाका दरले कुल १२० जनालाई तालिममा सहभागी गराइनेछ । तालिमको अवधि विधाअनुसार १६० देखि ३९० घण्टासम्म रहनेछ । बारिस्टा १६० घण्टा र सहायक ब्युटिसियन तालिम ३६० घण्टाका हुनेछन् भने अन्य चार विधाका तालिम ३९० घण्टाका हुनेछन् । तालिमका लागि इच्छुक युवा तथा युवतीले कात्तिक मसान्तसम्म आवश्यक कागजपत्रसहित निवेदन पेस गर्नुपर्नेछ ।
देशको पर्यटकीय राजधानी समेत रहेको पोखरामा तालिमबाट आतिथ्य सेवा, स्वास्थ्य हेरचाह, सौन्दर्य सेवा तथा बाल विकास लगायतका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुनुका साथै स्थानीयस्तरमा रोजगारीका अवसर विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको महानगरले जनाएको छ । रासस
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...