Admission Open

वार्षिक रु १० देखि १२ लाखको च्याउ उत्पादन : राम्रो आम्दानी गर्दै ऋषिराम चौधरी

काठमाडौं : घोराही उपमहानगरपालिका-१८ निवासी ऋषिराम चौधरीका लागि च्याउखेती आम्दानीको स्रोत बनेको छ । च्याउखेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि चौधरीले लगानी समेत बढाउँदै लगेका छन् ।

सामुदायिक वनका क्षेत्रमा काम गर्दै गर्दा १७ वर्षअघि २०६२ साल मङ्सिरदेखि च्याउखेती सुरु गरेका चौधरीले २०७२ सालदेखि अम्बिकेश्वरी च्याउ उद्योग दर्ता गरेर व्यावसायिक रुपमा च्याउखेती सुरु गरेका हुन् ।

छ प्याकेट च्याउको बिउबाट सुरु भएको व्यवसायमार्फत् अहिले वार्षिक रु १० देखि १२ लाखको च्याउ उत्पादन गर्दै आएका छन् । तत्कालीन समयमा उनले दुई हजार पाँच सय सय मात्रै लगानी गरेका थिए ।“विगत १७ वर्षदेखि म निरन्तररुपमा यही पेसामा छु”, उनले भने, यसबाट राम्रो आम्दानी भएको छ ।” करिब दश वर्षअघि च्याउको बजार कम भए पनि पछिल्लो समय बढ्दै जाँदा च्याउखेतीमा लाग्ने व्यवसायीसमेत थपिँदै गएको बताए ।

उनले दैनिक करिब ४०/५० केजी बराबरको च्याउ उत्पादन गर्दै आएका छन् । उत्पादन भएको च्याउ जिल्लाभित्रै खपत हुने उनको भनाइ छ । यसअघि रोल्पा, प्यूठान, बुटवललगायतका ठाउँमा जाने गरेको भए पनि अहिले जिल्लामै खपत हुने गरेका छ । जिल्लामा सुगर, प्रेसरलगायतका बिरामीले खान मिल्ने र मासुको विकल्पमा पनि च्याउको प्रयोग बढेपछि जिल्लामा च्याउको माग बढ्दै गएको उनको भनाइ छ ।

च्याउखेतीका लागि दुई वटा टनेल निर्माण गरेका चौधरीले अग्र्यानिक च्याउ उत्पादन गर्ने गरेको बताए । च्याउबाट राम्रो आम्दानी लिन सकिने भए पनि जिल्लामा गुणस्तरीय बिउ नपाउँदा व्यवसायी समस्यामा परेको उनले गुनासो गरे ।चौधरीले काठमाडौँको कालिमाटीबाट च्याउको बिउ ल्याउछन् । उत्पादन भएको च्याउ बिक्री नभए सुकुटी बनाएर बिक्री गर्ने गरेको उनले बताए । च्याउलाई सुकुटी बनाएर बिक्री गर्नका लागि मेसिनसमेत ल्याएका छन् । सुकुटी बनाएको च्याउ प्रतिकेजी रु दुई हजारसम्म बिक्री हुने गरेको चौधरीले बताए ।

“च्याउ नबिक्ने समस्या छैन । तर कहिलेकाहीँ बिक्री भएन भने सुकुटी बनाउने गरेको छु”, चौधरीले भने “च्याउ प्रतिकेजी रु एक ९० देखि दुई सयसम्म बिक्री हुने गरेको छ भने सुकुटी प्रतिकेजी दुई हजारसम्म बिक्री हुने गर्दछ ।”

उनका अनुसार भदौ महिनादेखि फागुनसम्म च्याउबाट राम्रो आम्दानी लिन सकिन्छ । गत असोजमा परेको वर्षाका कारण रु एक लाख बरावरको घाटा व्यहोर्नुपरेको उनको भनाइ छ । लगातार परेको पानीका कारण बिक्री गर्न नपाएकाले कुहिएर गएको बताउछन् । अझ व्यवसायलाई फराकिलो बनाउनका लागि हालसम्म कहिकतैबाट आफूले अनुदान पाए सहज हुने बताए । अहिले पनि विचौलियाका कारण वास्तविक किसानले अनुदान नपाउने समस्या रहेको गुनासो गरे । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...