Admission Open

ad place

पुस ६ देखि लिटरेचर फेस्टिभल : वाराहीघाट लेकसाइड पोखरामा

[ फेस्टिभलमा देश विदेशका विशिष्ट व्यक्तित्वको सहभागिता रहने ]

पोखरा : नेपाल लिटरचेर फेस्टिभल पुस ६ देखि ११ सम्म वाराहीघाट लेकसाइड पोखरामा आयोजना हुँदैछ । नेपाल लिटरचेर फेस्टिभलको दशौं संस्करणबारे जानकारी दिन शनिवार आयोजक संस्था बुकवर्म फाउन्डेसनले पोखरामा पत्रकार सम्मेलन आयोजना गरेको छ । यस वर्षको फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान छ ।

यसैगरी फेस्टिभलको प्रवर्द्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान रहेको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ । फेस्टिभलका अघिल्ला संस्करणझैं यस वर्ष पनि देश विदेशका करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ । फेस्टिभलमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिनेछन् । फेस्टिभलमा दैनिक हजारौ साहित्यानुरागी भेला हुने आयोजकको आंकलन छ।

यस वर्ष फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलङ्काली लेखक सेहान करुणातिलका, लेखक एवम् पत्रकार अक्षय मुकुल, सहप्राध्यापक एवम् लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्वहरूको सहभागिता हुँदैछ ।

साथमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवम् लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, लेखक बुद्धिसागर, सुविन भट्टराई, संगीतकर्मी रज्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका कुमा लिम्बूलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ ।

साथै यस वर्ष फरक क्षमता भई अब्बल रहेको व्यक्तित्वहरु, दार्चुला, गोरखा मनाङका स्थानीय जनप्रतिनीधिहरुको पनि उपस्थिती रहनेछ । फेस्टिभलमा हरेक दिन सांगीतिक प्रस्तुती रहेका छन् । फेस्टिभलको पूर्व सन्ध्यामा कवि नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुती रहेको छ ।
फेस्टिभलको पहिलोदिन गोपाल योञ्जनको सम्झनामा गोपालय सांगीतिक प्रस्तुती रहेको गोपालय गीतकार, गायक तथा संगीतकार गोपाल योञ्जनको स्वर्गारोहणको २५ वर्षमा उनिप्रति फेस्टिभलको सम्मान हो ।

यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आधुनिक संगीतमा १०० वर्ष, अनिल शाही र उनको समूहको विशेष सांगितिक प्रस्तुति र रैथानेको प्रस्तुती रहेको छ । फेस्टिभलको अन्तिम दिन प्रदिप रोदनको महफिल रहनेछ ।
यस्तै फेस्टिभलमा शिक्षा ३ समहरु रहेका छन् । साथै फेस्टिभलका ४ दिन बिहान ९ बजेदेखि १०ः ३० बजेसम्म कक्षा ९ देखि १२ सम्मका बालबालिकाको लागि वक्तित्वकला प्रतियोगिताको कार्यक्रम पनि रहेको आयोजक टोलीका विकास रोकामगरले बताए ।

“शब्दशक्ति उत्सवको एक दशक’ नारा रहेको दशौं संस्करणको फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवं काठमाडौ विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत्प्रवचन रहनेछ । उनले नेपाल २०९० शीर्षकमा प्रवचन दिने कार्यक्रम छ । पत्रकार सम्मेलनमा फेस्टिभलका सह–निर्देशक सुजाता खत्रीले दशौं संस्करणको फेस्टिभल आफूहरूका लागि थप विशेष भएको बताइन्।

पत्रकार सम्मेलनमा आयोजक संस्थाकै भरत कोइरालाले सहरको समृद्धि भौतिक पूर्वाधारले मात्र नहुने भन्दै साहित्य पनि समृद्ध हुनुपर्ने बताए । पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय बनिसकेको कोइरालाले बताए । यस फेस्टिभललाई पोखरावासीहरूले उत्साहपूर्वक प्रतीक्षा गरिरहेको उनको भनाइ छ ।

आयोजक संस्थाकै केशवशरण लामिछानेले पनि नेपाल लिटरेचर फेस्टिभलले पोखरालाई सुसंस्कृत, व्यवस्थित बनाउन सकिन्छ भन्ने बहस छेड्ने गरेको बताए । तालको सहर, हिमालमुनिको सहर आदि विभिन्न विशेषताले चिनिरहेको पोखरालाई साहित्यको पनि सहर बनाउन फेस्टिभलको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।

त्यस्तै, नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले नाम लिटरेचर फेस्टिभल भएपनि समाजका सबैजसो क्षेत्रका बारेमा बहस गरिने बताए । फेस्टिभल झम्सिखेलको ज्ञान मण्डलाबाट पोखराको बाराहीघाटमा आइपुगेको बताए । फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवम् सरोकारवालालाई जबाफदेही बनाउन सघाउँछ । साथै सचेत समाज निर्माणमा पनि यसले विशेष भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...