Admission Open

ad place

पोखरालाई पर्यटनको राजधानी हामी आफैं घोषणा गर्छौँ : धनराज आचार्य (प्रमुख पो.म.पा)

पोखरा : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई ‘पर्यटनको राजधानी’ स्थानीय सरकारले नै घोषणा गर्ने बताएका छन् । पर्यटनको राजधानी घोषणा गर्न पोखरा महानगरपालिकाले संघ सरकारलाई आग्रह गरेको थियो ।

सो निर्णय महानगरले पाँच वर्ष अघि गरेको थियो । गण्डकी प्रदेश सरकारले दुईपटक पहल गर्दा पनि संघ सरकारको ध्यानाकर्षण भएको छैन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गरे पनि अहिलेसम्म थाँती रहेको छ ।

आचार्यले भने, ‘पोखरालाई केन्द्रमा राखेर हामी आफैं काम गर्छौं ।’ उनले पोखरा टुरिजम एन्ड हस्पिटालिटी मिट–२०२२ को उद्घाटन गर्दै उक्त उद्घोष गरेका हुन् । पर्यटन उद्योगका लागि चाहिने जनशक्ति जनप्रिय बहुमुखी क्याम्पसले उत्पादन गर्नु सह्रानीय भएको उनले बताए । पोखरालाई मुक्ति क्षेत्रको प्रवेशद्वार बनाउन प्रतिवद्ध रहेको पनि उनले बताए ।

कार्यक्रमका प्रमुख वक्ता प्रा.डा रमेशराज कुँवरले ‘नेपालको पर्यटन हिजो, आज र भोलि विषयमा प्रस्तुति राख्दै नेपालमै पहिलोपटक पर्वतीय पर्यटनको अध्ययन अध्यापन गराएको भन्दै जनप्रिय क्याम्पसको प्रशंसा गरेरै नसकिने बताए । कुवँरले स्वायत्त पाठ्यक्रम विकासका लागि आफूले पहल गर्ने जानकारी दिए । नेपालको पर्यटनमा महाभूकम्प र कोरोना कहरले धक्का लागे पनि दीगो पर्यटनका लागि शिक्षित र दक्ष जनशक्ति आवश्यक रहेको औंल्याउँदै भविष्यका कर्णधार पर्यटनका विद्यार्थी रहेको बताए ।

त्यस्तै, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनका सम्भावनालाई सार्थक बनाउने उपायबारे प्रस्तुति राखेका थिए । रेग्मीले वार्षिक ४ सय जनशक्ति पर्यटन क्षेत्रका लागि तयार भए पनि पर्यटन उद्योगमा दक्ष जनशक्तिको माग ख्टकिएको जनाए ।

त्यस्तै, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानोर्बु शेर्पाले पर्यटन पढेका दक्ष जनशक्ति होटल, बार, रेस्टुरेन्टका लागि मात्रै नभई समग्र पर्यटन क्षेत्रलाई चाहिने हुँदा पर्वतीय पर्यटनको पढाइले योगदान दिने विश्वास व्यक्त गरे । गण्डकी प्रदेशमा पर्यटन र अतिथ्यता शिक्षाको अहिलेको अवस्था र सम्भावनाबारे प्यानल छलफलमा पर्यटन शिक्षण गर्दै आएका डा.रामजी शर्मा, नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारी, बाराही ग्रुपका निर्देशक वैभव पौडेल, पोखरा ग्रान्डका महाप्रबन्धक पञ्चलम लामा सहभागी प्यानल छलफलको सहजीकरण दीपेन्द्र पहारीले गरेका थिए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्य ध्रुवराज चालिसेले स्वागत मन्तव्य राखेका थिए । क्याम्पस प्रमुख लोकराज भण्डारीले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रमको सञ्चालन डा. भावना पोखरेलले गरेकी थिइन । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, डा. ध्रुवराज पोखरेललगायतले बोलेका थिए ।

एमविए इन हस्पिटालिटी र विएमटिमको पाठ्यक्रमका बारेमा नेत्रप्रसाद सुवेदी र मेखराज पौडेलले जानकारी प्रस्तुत गरेका थिए । जनप्रिय बहुमुखी क्याम्पसको आयोजना र पोखरा पर्यटन परिषद्को सहआयोजनामा सम्पन्न कार्यक्रमलाई पोखरा महानगरपालिका, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन पोखरा र पर्यटन मन्त्रालय गण्डकी प्रदेशले सघाएको थियो । कार्यक्रममा पोखरा र गण्डकी प्रदेशका १२ कक्षा सकेका विद्यार्थी, विद्यालय, क्याम्पस सञ्चालक र विज्ञ गरी ३ सय ७७ को सहभागिता रहेको क्याम्पप प्रमुख भण्डारीले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...