Admission Open

व्यवसायी र बैंकर्सबीच छलफल

गण्डकी : लेखनाथ उद्योग वाणिज्य संघद्वारा शुुक्रबार आयोजित व्यवसायी र बैकर्स बीचको छलफल तथा शुभकानमना आदानप्रदान कार्यक्रममा अर्थतन्त्रमा देखिएको समस्याका कारण व्यवसाय धान्ने चिन्ता बढ्दै गएकोमा जोड दिइएको छ ।

कोरोनालगायत कारणबाट समस्यामा परेका व्यवसायीलाई चर्को ब्याजदर वृद्धिले थप आक्रान्त बनाएको उल्लेख गर्दै वक्ताले जसका कारण लगानी थप्ने भन्दा पनि व्यवसाय नै कसरी धान्ने भन्ने चिन्ता थपिएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बाबुराम गिरीले अर्थतन्त्रमा देखिएको विषम परिस्थितिलाई समयमा नै निराकरण नगर्ने हो भने थप समस्या बढ्ने बताए । समस्याको समाधान गर्न सम्बद्ध निकायले तत्कालै पहल गर्नुपर्नेमा जोड दिँदै उनले यसका लागि साझा अवधारणाको खाँचो औंल्याए ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले व्यवसायीमा लगानी गर्ने अवस्था नभएको बताए । उनले व्यवसायलाई कसरी जोगाउने भन्ने मात्र चिन्ता बढेको बताए । समस्याको समाधानका लागि राष्ट्र बैंकले सही नीति र कार्ययोजना ल्याउनुपर्ने उनले सुझाव दिए । संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु), वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठलगायतले ब्याजदर वृद्धिलगायतका समस्या समाधान नगरेमा व्यवसाय नै धरासायी बन्ने अवस्था आएको बताउँदै यसतर्फ सम्बद्ध निकाय गम्भीर बन्नुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्र बैंक पोखराका शाखा प्रमुख रामशरण खरेलले चाँडै नै अर्थतन्त्रमा सुधार आउने विश्वास व्यक्त गरे । वर्तमानमा अर्थतन्त्रमा देखिएका समस्याका कारण व्यवसायीमा केही अप्ठ्यारो अवस्था आए पनि यसको सही निकासका लागि राष्ट्र बैंक चिन्तनशील भएको उनको भनाइ थियो ।

कोभिडका कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परेको यथार्थतासँगै व्यवसायीबाट उठेका कुराले सकारात्मक सन्देश दिने उनले बताए । सरकारले ल्याएको मौद्रिक नीतिदेखि विप्रेषणमा देखिएको सुधार र पर्यटकको वृद्धिले यसलाई सहज तुल्याउने बताउँदै उहाँले राष्ट्र बैंकले पनि बैंकलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन प्रेरित गरेको उल्लेख गरे ।

नेपाल बैंकर्स एशोसिएशनका गण्डकी प्रदेश अध्यक्ष सविन केसीले बैंकमा देखिएको अस्वस्थ ब्याजको प्रतिस्पर्र्धा र लगानीका सम्भावनाको खोजी नगर्दा अर्थतन्त्रमा कमजोर अवस्था आएकाले यसको निराकरणका लागि राष्ट्र बैंकले अहम् भूमिका निभाउनुपर्ने बताए । ग्रीन डेभलमेण्ट बैंकका निमित्त कार्यकारी निर्देशक हरि बुढाथोकीले लगानीमैत्री वातावरण सिर्जना गरी उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने हो भने दुई चार महिनामा नै अर्थतन्त्रमा सुधारका लक्षण देखिने धारणा राखे ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...