Admission Open

ad place

कैलालीका थारू समुदायमा भजहरको रौनक

काठमाडौँ : शनिबार कैलालीको भजनी नगरपालिका-९ पचमुडियाका एक सय ७४ थारू समुदायका घर परिवार बिहानैदेखि खुला चौरमा गई बसे । लहरै खाना पकाउनका लागि चुलो बनाइएको छ भने खाने कुरा पनि राखिएका थिए । बिहानै गएका उनीहरु बेलुका अबेर घर फर्किए ।

शनिबार नै कैलालीको घोडाघोडी नगरपालिका-८ दीपनगरका थारू समुदाय पनि नदी छेउमा गई बसे । बिहानै गएका उनीहरु त्यहीँ खानपिन गरेर बेलुका घर फर्किए ।

गएको मङ्गलबारदेखि बिहीबारसम्म घोडाघोडी नगरपालिका-११ सिसैयाका ६२ थारू परिवार पनि कन्द्रा नदी किनारमा खुला आकाशमुनि त्यसैगरी बसेर फर्के । खानेकुरासहित दुई रात बास बसेर उनीहरु घर फर्के ।

यसरी नदी छेउ गएर खुलाचौरमा उनीहरु कुनै बाध्यताले नभई थारूहरुको महत्वपूर्ण पूजा भजहर मनाउन बसेका थिए । अहिले कैलाली कञ्चनपुरलगायतका थारू समुदायमा भजहरको रौनक छाएको छ । भजहर मनाउन उनीहरु खुला चौरमुनि बसिरहेका देखिन्छन् ।

वैशाख महिनामा मनाइने यो पर्व थारू समुदायले गर्ने पूजामध्ये एक हो । यो पूजासँगै थारू समुदायमा लवाङ्गी पूजा, हरहर पूजा गर्ने गरिन्छ । लवाङ्गी र हरहर पूजा अन्नबालीसँग जोडिएको हुन्छ भने, भजहर गर्मीयाम सुरु भएसँगै विभिन्न रोगव्याधिले सताउने हुँदा त्यस्ता रोग व्याधि नलागोस् भनेर पूजा गरिन्छ ।

भजहरको दिन बिहानै गुरुवामार्फत नवदुर्गाको पूजा गरिन्छ । दुर्गालाई खुसी पार्न पशुपक्षीको बलि दिने, गुरुवाले आफ्नो जिब्रो छेडेरे देवीलाई रगत चढाउने गरेको घोडाघोडी नगरपालिकाका नगर भल्मन्सा बुधराम चौधरीले जानकारी दिए ।

यसले गर्दा महामारी, रोग व्याधि हट्ने मान्यता रहेको उहाँले बताए । पूजाका लागि गाउँका सबै जना मिलेर पैसा सङ्कलन गरी भेडा, पाठी, सुँगुर र कुखुरा बलि दिने गरिन्छ ।दुर्गालाई पूजा गरे सुखशान्ति छाउने र कुनै पनि महामारीले नछुने गुरुवा पञ्चराम चौधरी बताउँछन् । पहिले र अहिले भजहर मनाउने तरिका केही फरक भएको छ ।

पहिले नौदेखि सात दिनसम्म भजहर बस्ने गरिन्थ्यो । अहिले एक दिन मात्रै बस्ने गरिन्छ । कतिपय समुदायमा अहिले पनि पाँच दिन, तीन दिन र साढे दुई दिन पनि बस्ने गरिन्छ । कठरिया समुदायमा दुई दिन पूरा र एक दिन आधा बस्ने गरिन्छ जसलाई अढैया भजहर भन्ने गरेको घोडाघोडी नगरपालिका-११ का भलमन्सा गयाप्रसाद कठरियाले जानकारी दिए ।

भजहरको किंवदन्ती

भजहरको सुरूवात कसरी भयो भन्ने कुरामा विभिन्न जानकारहरुका छुट्टाछुट्टै कथा र मान्यताहरु रहेको थारू संस्कृतिका अध्येता डा.रामप्रसाद चौधरी बताउँछन् ।

धेरै किंवदन्तीमध्ये भजहर रामायणसँग जोडिएको प्रसङ्ग विशेष रहेको उनले सुनाए । रावणको कब्जाबाट अयोध्या ल्याएपश्चात्, जब रामले गर्भवती सीतालाई पुनःवनबास पठाउँछन् त्यतिबेला अयोध्यावासीले उनलाई घर बाहिर नै भोजन भण्डारा गराउँछन् ।

सोही कुराको स्मरण गर्दै थारू समुदायमा भजहर मनाउने चलन परम्परादेखि चल्दै आएको डा चौधरी बताउँछन् । सीताको किंवदन्तीसँग जोडिएको भजहरमा विस्तारै गुरुवाहरुले दुर्गाको पूजाआजा गर्ने चलन जोडिँदै गएको डा.चौधरीले जानकारी गराए ।

उनका अनुसार विशेषगरी गर्मी याममा विभिन्न रोग र महामारीको प्रकोप आउने हुँदा त्यसबाट बच्नका लागि माता सीतासँगै दुर्गाको पूजा आराधना गर्दै भजहर मनाइने गरिन्छ । यसोगरे सम्पूर्ण महामारीबाट मुक्त हुने थारू समुदायको विश्वास छ ।

थारू समुदायको देवीदेवता पुज्ने, गाउँलाई महामारीबाट मुक्त गर्ने, झारफुक गर्ने, भूतप्रेतलगायत अनिष्टबाट बचाउन हरेक गाउँमा गुरुवा हुन्छन् । गाउँमा दुःख बिमार एवं ठूलो विपत्ति आइपर्दा गाउँका भलमन्साले गुरुवालाई बोलाएर ठीक पार्ने गर्दर्थे ।

भजहर बसेन भने ठूलो विपत्ति आउने, महामारी र रोगव्याधिले सताउने मान्यता रहेको घोडाघोडी नगरपालिका वडा नं ८ का भलमन्सा दिपेन्द्र चौधरी बताउँछन् । जति नै ठूलो विपत्ति आइपरे पनि भजहरले निर्मूल पार्ने विश्वास थारू समुदायमा रहेको उनले जानकारी गराए ।

भजहरसँग विशेष गरेर महिला जोडिने गर्दछन् । महिलालाई खुसी राख्नसके परिवार र गाउँ समाज नै सुखी हुने विश्वासका साथ पनि भजहरलाई हेर्ने गरिन्छ ।घरधन्दा र खेतीपातीमा व्यस्त महिला स्वतन्त्ररुपले घुम्न नपाउने अवस्थामा भजहरले सबैलाई एक ठाउँमा जम्मा हुने अवसर जुटाउने गर्दछन् ।

भजहरमा सबैजना जम्मा भएर एकअर्काका सुखदुःख साट्ने गरेको भजहरमा सहभागी घोडाघोडी नगरपालिका-३ की सीता चौधरी बताउँछन् ।

भजहरको बेला गाउँका सबै महिला दिदीबहीनी एक ठाउँमा जम्मा हुने, स्वतन्त्र रुपमा आफ्ना सुखदुःखका कुरा साटासाट गर्ने, सँगै पकाउने खाने, नाचगान गर्ने र खुला आकाशमुनि सुतेर रमाइलो गर्ने परम्परा रहिआएको छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...