Admission Open

ad place

गण्डकी र मधेश प्रदेशबीच पर्यटन प्रवद्र्धन गर्न सरोकारवालाको प्रतिवद्धता

बर्दिबास : पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिवद्धता व्यक्त गरिएको छ । मिथिला संस्कृति र गण्डक संस्कृतिबीच आ–आफ्नै विशेषता रहेकोले दुवै प्रदेशबीच पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकाय तथा व्यक्तिले शनिबार बर्दिबासमा आयोजित कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

अन्तरप्रदेश पर्यटन प्रवद्र्धन तथा अन्तक्र्रियाबारे ३ दिने कार्यक्रम लिएर मधेश प्रदेश गएको टेवान पोखराको टोलीलाई होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले आयोजना गरेको दिगो पर्यटनका लागि समान सहभागिता विषयक अन्तक्र्रिया कार्यक्रममा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई (समीर) ले निजी क्षेत्रसंग सहकार्य गरेर सरकार अघि बढ्ने बताए ।

नवनियुक्त मन्त्री भट्टराईले प्रादेशिक व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मधेशमा पर्यटनको विकास र प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार रहेको जानकारी दिँदै विधेयक दर्तासँगै पर्यटन बोर्ड गठन गर्ने बताए ।

मधेश प्रदेशका ८ जिल्लामध्ये प्रत्येक जिल्लामा कम्तीमा एक ठाउँलाई पर्यटकीय क्षेत्र विकास गर्ने योजना रहेको उनले बताए । उनले पोखरा आएको पर्यटक कसरी मधेश ल्याउने तथा मधेश घुम्न आउने पर्यटक पोखरा कसरी पठाउने भन्नेबारे प्याकेज घोषणा गर्नुपर्ने बताएका छन् ।

गण्डकी–मधेशबीच हवाई सेवा सञ्चालन निरन्तरताका लागि छुटको व्यवस्था गरेर भएपनि चाँडै नै अघि बढाउनुपर्नेमा उनको भनाइ थियो । पर्यटक भित्र्याउन सरकारले के गर्नुपर्छ, त्यस्तो नीति बनाउन तयार रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रले साथ दिनुपर्ने बताउँछन् । जानकी मन्दिर र अयोध्या संस्कृति जोड्न चाँडै नै जनकपुर–अयोध्या रेल सञ्चालनको प्रोजेक्ट घोषणा हुने उनी बताउँछन् ।

मधेशका गृह, सञ्चार तथा कानुन मन्त्री शारदादेवी थापाले तालैतालको शहर पोखरा झैं मठमन्दिरको सहर जनकपुरलाई पनि चिनाउनुपर्ने उनको भनाइ छ । उनले बर्दिबासको राईमण्डलसहित विभिन्न क्षेत्रको पर्यटनको प्रचूर सम्भावना रहेको बताइन् ।

श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीले पर्यटन क्षेत्र विकासको मेरुदण्ड रहेको बताउँछिन् । श्रमिकहरुलाई संगठित गरेर रोजगारी दिने क्षेत्र पर्यटन रहेकाले आयआर्जनको दिशामा अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । टेवानको सक्रियताप्रति प्रशंसा गर्दै उनले कोही न कोहीले यस्तै खालको भूमिका निर्वाह गर्नुपर्नेमा उनको सुझाव छ ।

टेवान अध्यक्ष कमला गिरीले पर्यटन विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्य आवश्यक रहेको बताउँदै बिगतमा पनि पोखरा–सिमरा तथा पोखरा–जनकपुर उडान भएकोमा पुनः निरन्तरता दिन जोड दिइन् । पर्यटनमैत्री नीति नियम बनाउनुपर्ने भन्दै उनले आन्तरिक पर्यटन प्रवद्र्धन गरी यहाँको पैसा बाहिर जान रोक्नुपर्ने उनले बताइन् । बर्दिबासमा पनि अन्तर्राष्ट्रिय सेमिनार, गोष्ठीको पहल गर्नुपर्ने उनले सुझाव दिँदै पर्यटन क्षेत्रमा प्रकृति, संस्कृति, पहुँच, सुविधा, विविध गतिविधि, विज्ञापन लगायतमा ध्यान दिनुपर्ने बताएकिछिन् ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश संरक्षक विजय झुनझुनवलाले मधेशमा पनि पर्यटन बोर्ड स्थापनाको जोड दिए ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश अध्यक्ष हिरालाल गौतमले मधेश प्रदेशका नाका खोल्नुपर्नेमा जोड दिए । बर्दिबासमा हतियार कारखानाको पुरातात्विक महत्व रहेको चर्चा गर्दै उनले पर्यटन क्षेत्रमा विनियोजित रकम खर्च गरेमात्रै धेरै काम हुन सक्ने विचार व्यक्त गरेका छन् । होटल संघ मधेश प्रदेश निकै सक्रिय रहेको उनको दाबी छ ।

नाट्टा मधेश प्रदेश अध्यक्ष एवं नेपाल होटल तथा पर्यटन व्यवसायी मधेशका निवर्तमान महासचिव मोहन शर्मा लामिछानेले मधेश र गण्डकी प्रदेशबीच बिगतमा झैं सहकार्यको आवश्यक रहेको बताउँदै उनले गढिमाई भ्रमण वर्ष घोषणा गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा बर्दिबास उद्योग वाणिज्य संघ अध्यक्ष विष्णुबहादुर खड्का, समाजसेवी केदार कोइराला, पर्यटन व्यवसायी तवरेज आलम, पत्रकार विशाल बस्नेत, सागरराज तिमिल्सिना, विजय नेपाल लगायतले गण्डकी र मधेश प्रदेशको पर्यटन सम्बन्धी आफ्ना धारणा राखेका छन् ।
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरी अध्यक्ष गुञ्जबहादुर कार्की (गोपाल) को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरी सदस्य विनोद भण्डारी र सञ्चालन महासचिव नारायण घिमिरेले गरेका हुन् ।

कार्यक्रममा मिथिला उद्योग वाणिज्य संघ अध्यक्ष सन्तोष साह, होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका संस्थापक अध्यक्ष दीपेन्द्र पराजुली, चन्द्रनिगाहापुर उद्योग वाणिज्य संघ अध्यक्ष उदयनारायण सापकोटा, नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेशका महासचिव वैकुण्ठ सापकोटा, होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका निवर्तमान अध्यक्ष रेवन्त कार्की सुदीप, संगीतकार पूर्ण परियार, विभिन्न संघसंस्थाका प्रतिनिधि, टेवान पदाधिकारी एवं सदस्य लगायत सहभागी थिए ।

टेवान टोलीले विभिन्न आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ३ दिने कार्यक्रमअन्तर्गत त्यस क्षेत्रका सरोकारवालासँग अन्तक्र्रिया गरेको छ । टोलीले शुक्रबार वीरगञ्ज उद्योग वाणिज्य संघसँग अन्तक्र्रिया गरेको थियो । टोलीले वीरगञ्ज, बाराको गढीमाई मन्दिर, जनकपुरधाम, बर्दिबास, टुटेश्वर, पञ्चमाई मन्दिर, भरतताल आसपासका धार्मिक एवं पर्यटकीय क्षेत्रको भ्रमण गरेको टेवान सचिव एवं कार्यक्रम संयोजक शोभा अधिकारी पौडेलले जानकारी दिइन् । पोखराका पर्यटन व्यवसायी महिलाहरुको सक्रियतामा २०७४ सालमा टेवान स्थापना भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...