Admission Open

बैसठ्ठी पक्की घरको नम्डोललिङ नमूना एकीकृत बस्ती हस्तान्तरण

देवराज सुवेदी/सिन्धुपाल्चोक : भूकम्पबाट घर गुमाएका मेलम्ची १२ गिरान्चौरका ६२ घर धुरीलाई पक्की घर हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुनःनिमार्ण प्राधिकरण, चौधरी फाउण्डेशन, मेलम्ची नगरपालिका र बस्ती निमार्ण समितिद्वारा सोही स्थानमा निर्मित नम्डोललिङ नमूना एकीकृत बस्ती आईतबार समुदायलाई हस्तान्तरण गरिएको हो ।

ती भवन हस्तान्तरण समारोहमा फाउण्डेशनका अध्यक्ष विनोध चौधरीले बस्तीसँगै अब आयआर्जन गर्नका लागि यहाँका समुदायले चासो दिनुपर्ने बताए । उनले डिजिटिल शिक्षा, स्वास्थ्य, स्वस्च्छ खानेपानीका लागि पनि फाउण्डेशनले सहयोग गरेकामा आगामी दिन आवश्यक सहयोगसमेत गरिने जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले भूकम्पले ध्वस्त बनाएको बस्ती पुनःनिमार्णमा सहयोग गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिन थप सहयोगको अपेक्षा गरे । राष्ट्रिय पुनःनिमार्ण प्राधिकरणको तीन लाख रुपैयाँ, चौधरी फाउण्डेशनको आठ लाख र दुई लाख रुपैयाँ स्थानीयवासीको गरी प्रति घर १३ लाख रुपैयाँको लागतमा ६२वटा चार कोठे पक्की घर निर्माण गरिएको र ती घरमा शौचालय, खानेपानी, विद्युत्लगायत सुविधा पनि उपलब्ध गराइएको इञ्जिनीर शरद दुलालले जानकारी दिए ।

शैक्षिकसँगै आर्थिक क्षेत्रलाई पनि जोड्न र आयआर्जनका लागि स्थानीयवासीलाई सहज गराउन फाउण्डेशनको सहयोगमा गाउँमै रहेको इँट्टा उद्योगलाई व्यवस्थित र थप विस्तार गर्दै लैजाने योजना रहेको बस्ती निर्माण समितिका अध्यक्ष कर्मासिं लामाले बताए । पानीको समस्यामा रहेका स्थानीयवासीलाई लिफ्टबाट घरघरमा पानी उपलब्ध गराइनाका साथै एकीकृत रुपमा नयाँ पक्की घर पाएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । विसं २०७२ को भूकम्पमा सिन्धुपाल्चोकमा ९१ हजार ९४ परिवार लाभग्राहीको सूचिमा परेका थिए । हालसम्म ८४ हजार सय ७५ घर निर्माण भइसकेका बाँकी निर्माणाधीन अवस्थामा रहेको जिल्ला आयोजना कार्यान्वयन एकाईले जनाएको छ ।

जिल्लामा २२ एकीकृत बस्ती

भूकम्पले सबैभन्दा धेरै क्षति पु¥याएको यस जिल्लाको अधिकांश घर ध्वस्त भएका थिए । भूकम्पले ढलाएका घर पुनःर्निमाणको चरणमा एकीकृत बस्तीको अवधारणा आए पनि सबैतिर त्यो लागू हुन सकेन । अहिले जिल्लाको २२ ठाउँमा एकीकृत बस्ती बनेकामा मेलम्ची १२ मा मात्रै चार वटा एकीकृत बस्ती छन् । विकास र निर्माणका हिसाबले निकै सहज हुने भएकाले एकीकृत बस्ती विकासको अवधारणा ल्याइएको जिल्ला समन्वय समितिका प्रमुख तामाङले बताए ।

एउटै वडामा मात्र ४ एकीकृत बस्ती

मेलम्ची १२ मा मात्र ४ वटा एकीकृत बस्ती निर्माण भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनको सहयोगमा निर्मित ६५ घरको गिरान्चौर बस्ती, ६५ घरकै नम्डोललिङ नमूना एकीकृत बस्ती, सामुदायिक पुनःनिमार्ण पर्यटन परियोजनामार्फत निर्मित १ सय ३५ घरको वस्ती र ३१ घरको थाक्ले बस्ती यस वडामा रहेको मेलम्ची नगरपालिकाका इञ्जिनीयर जितबहादुर कार्कीले बताए । नम्डोललिङ बस्तीका लागि योजना बनाइएको र आगामी दिनमा पनि एकीकृत बस्तीको लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको नगरप्रमुख डम्बर अर्यालले बताए ।

पर्यटक लोभ्याउँछ बस्तीले

एकीकृत बस्तीले पर्यटकलाई आकर्षित गर्ने स्थानीयबासीले बताए। स्थानीय कला र संस्कृति झल्कने वेषभूषा र रहनसहनले गर्दा आन्तरिक तथा बाह्य पर्यटक गाउँमा भित्र्याउन सकिने उनीहरुको भनाइ थियो। पर्यटक प्रवर्धनका लागि होमस्टेको विकास गर्दै आगामी दिनमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने योजना रहेको स्थानीयवासी क्षितिज तामाङले बताए । त्यसका लागि बाह्रै महिना चल्ने सडक, स्वस्च्छ खानेपानी, चेतनाको विकास, एकीकृत बस्तीसँगै अन्य पूर्वाधारको विकास गर्नुपर्नेमा उनले जोड दिए ।

टिप्पणिहरु
Loading...