Admission Open

कविता

# केशव आचार्य

ऊ आत्तिएको छ
सरकारको निर्णयपछि-

कहिले चामल राख्ने भाँडो हेर्दै
कहिले ग्यासको सिलिन्डर हेर्दै

अझ आत्तिएको छ
श्रीमती र आफ्ना नावालक चार सन्तानको अनुहार हेर्दै-

ऊ विचलित छ
उनीहरुका आँखामा भरिएको
आँसुको जलन देखेर

झुस्स दाह्री अनि दुब्लो अनुहार लिएर
घरि बाहिर, घरि भित्र छटपटारहेको छ
कहिले चुक्क-चुक्क गर्दै
कहिले थुक्क-थुक्क गर्दै-

उसलाई डर छ, पहिलाजस्तै
अब कसैलाई गुमाउनुपर्छ कि भनेर

उसका सपना टुट्दै छन्
एक-एक सपनाले उसलाई पीडा दिँदै छन्
उसलाई जीवनमा
जे कुरासँग दूर भाग्न मन लागेको थियो
अब त्यही कुराले लखेट्दै छ-

वास्तवमा ऊ डराएको छ, नमज्जाले डराएको छ
नामर्द झैँ,
हात खुट्टा कपाइरहेछ, डगमगाइरहेछ
रोगले होइन भोकले…
वास्तवमा ऊ भोकले डराएको छ-

ऊ रुष्ट थियो सरकारको निर्णयप्रति
ऊ रुष्ट थियो
सरकारको घरभित्रै सुरक्षित बसौँ भन्ने विज्ञप्तिप्रति-

ऊ गालिका फोहोरा बर्साउँदै
भन्दै थियो
सरकारले आफ्नाहरुको ज्यान बचाउँन
म र मेरो परिवारलाई बलि चढाउँदै छ

सरकार रोगले आत्तिएको छ
र चिच्याइरहेछ
खोप ! खोप र फेरि खोप-
तर ऊ
भोकले आत्तिएको छ, चिच्याइरहेछ

सरकार रोगले थला परेको छ

भोकले थला परेको छ
अझ सन्तान र श्रीमतीको अवस्था देखेर थला परेको छ

आफ्ना सन्तान र श्रीमतीको अगाडि
विद्वाननै थियो ऊ
तर आज !
अज्ञानी अनपढसरह मौन छ

बाहिर शान्त भए पनि
भित्र भोकले छट्पटिएको ऊ
धेरै चोटी बौलाहा जस्तै
बिच सडकमा दौडिएको छ
नाक, मुख थुन्ने माक्स झैँ
भोक थुन्ने माक्स खोज्न
ऊ भन्दै छ, रोगको हैन भोक नलाग्ने खोप लगाइदेऊ
तर
सरकार उसका लागि अन्जान छ
सरकार त
हानथाप गर्दैछ
कुर्सी र पदका लागि
र मार्दै छ जनतालाई
आफू खुसी हुन-

बल्ल उसलाई पश्चाताप भो,
गद्दीमा भविष्य देख्ने सरकारबाट
न्यायको आशा गरेकोमा

आज ऊ रोगले होईन भोकले मरेको छ
ऊ मात्र हैन परिवारलाई समेत मारेको छ

सरकार भन्दै छ-
रोगले गर्दा एकै परिवारका पाँच सदस्यको मृत्यु-

समाचार र पत्रपत्रिकाको
आजको मुख्य समाचार
रोगले एकै परिवारका पाँचको मृत्यु

तर आश्चर्य !
कतै लेखिएको छैन/कतै छापिएको छैन

भोकले एकै परिवारका
पाँच सदस्यको मृत्यु… ।

  • दिक्तेल, खोटाङ
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...