Admission Open

चन्द्रका पाँच मुक्तक

'हृदयलाई चमत्कृत पार्ने रचना मुक्तक हो' -'अग्निपुराण’


-चन्द्र खड्का
(१)
कोही आउँछन् जहिल्यै आकाशको कुरामात्रै गर्छन्
कोही आउँछन् भरिएका बाकसको कुरामात्रै गर्छन्
कविहरूको देश मेरो, लेख्छन् यस्तै कुरामात्रै किन
नेता उही, कोही देवता त राक्षसको कुरामात्रै गर्छन् ।

(२)
आदर र श्रद्धाभाव मात्रै होइन शब्दमा पितामाता हराए
पिँढी र आँगन मात्रै होइन, सँगसँगै ढिकी र जाँता हराए
भाषासँगै संस्कार नि आयात हुने कुरा विज्ञले बिर्सेपछि
सुखी-जिन्दगी बाँच्ने निहुँमा सम्बन्धका सबै नाता हराए ।

(३)
हार्दिक बधाइ भन्दै शुभेच्छा दिएँ, पुरानै मिति रहेछ साथी
बारी-खेत-खलामा चल्ने हात, किबोर्डमा बितिरहेछ साथी
मरिसकेको कस्तो मानवीय संवेदना, हराएर मानव चेतना
प्रविधिको दास मान्छे, प्रविधिले नै घाँटी थिचिरहेछ साथी ।

(४)
जो-जसले जेसुकै भनुन् मायाले संसार चल्दैन साँच्चिकै
जति प्रयत्न गर, खोक्रो आदर्शले चुल्हो बल्दैन साँच्चिकै
हरेक जिउने मान्छे, आआफ्नै तबरले जिउँछन् आखिर
यो शरीर देवदारु वृक्ष हो है, तिम्रो दाल गल्दैन साँच्चिकै ।

(५)
अनिच्छित यो महामारी, यहीँ फर्कीफर्की आउँछ किन
सुन्दर ती गाउँ छोडी कोही, राजधानीतिर धाउँछ किन
भूकम्प धक्का वा कोरोना तब गाउँतिरै फर्कने पक्का
प्रकृति गर्छ बराबरी यदि भने मान्छे दुःख पाउँछ किन ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...