Admission Open

किशोरीलाई आइरन र फोलिक एसिड खुवाइँदै

– दुर्गा देवकोटा
टीकापुर, १९ माघः कैलालीको टीकापुर नगरपालिकाले किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाउन शुरु गरेको छ । नगरपालिकाले किशोरीमा देखिने रक्तअल्पताको समस्या न्यूनीकरणका लागि आइरन चक्की र फोलिक एसिड खुवाउन थालेको हो ।

टीकापुर नगरपालिकामा विद्यालय र समुदायमा गरी १० हजार किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाइने भएको छ । विद्यालयस्तरमा आइतबारबाट खुवाउन शुरु भएको छ ।

रक्तअल्पताको समस्या हुने भएकाले नेपाल सरकारको स्वास्थ्य तथा पोषण कार्यक्रमअनुसार कैलाली जिल्लाभरी किशोरीलाई आइरन तथा फोलिक एसिड खुवाइने टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो । ‘‘टीकापुर नगरपालिकाभित्रका सामुदायिक र संस्थागत गरी ७४ विद्यालयमा अध्ययनरत १० देखि १९ वर्ष उमेर समूहका किशोरीलाई आइरन तथा फोलिक एसिड चक्की खुवाउन शुरु भएको छ’’, संयोजक रावलले भन्नुभयो, ‘‘हप्तामा एक दिन हरेक आइतबार आइरन तथा फोलिक एसिड चक्कीलाई १३ हप्ता अर्थात वैशाख १२ गतेसम्म खुवाउने छौँ ।’’

सबै किशोरी विद्यालयको पहुँचमा नहुन सक्ने भएकाले समुदायमा रहेका किशोरीलाई समेत खुवाइने छ । चक्की खुवाउन विद्यालय तहमा ७४ जना शिक्षक, शिक्षिकालाई तालीम दिएर परिचालन गरिएको छ । समुदायस्तरका किशोरीका लागि १२० महिला स्वास्थ्य स्वयम्सेविकालाई तालीम दिएर परिचालन गरिएको छ ।

तेह्र हप्तासम्म खुवाइसके पश्चात सोही समयको अन्तरमा आउँदो वर्ष साउन, भदौँ महिनादेखि फेरि १३ हप्ता गरी २६ हप्तासम्म उक्त चक्की खुवाइनेछ । टीकापुरका विद्यालयले आइतबारबाट चक्की खुवाउन शुरु गरेका छन् । ‘‘शुरुमा के औषधि होला जस्तो लागेको थियो, पछि शिक्षकले यसको महत्वबारे भन्नुभयो’’, किशोरी सङ्गीता धामीले भन्नुभयो, ‘‘मेरो कक्षाका सबै किशोरीले खायौँ । स्वास्थ्यसँग जोडिएको औषधि किन नखाने भनेर खायौँ ।’’

तालीम प्राप्त शिक्षक तथा स्वयमसेविकाले औषधि खुवाउनुपूर्व किशोरीलाई रक्तअल्पता भनेको शरीरमा रगतको कमी भएको अवस्था हो, रक्तअल्पताका कारणमध्ये आइरनको कमी एक प्रमुख कारण हो भनेर सम्झाउने गरेका छन् । आजका किशोरी भोलिका आमा हुने भएकाले किशोरी पोषणबारे सबै सचेत हुन आवश्यक रहेको टीकापुर अस्पतालका स्टाफ नर्स कल्पना खड्का बताउनुहुन्छ । ‘‘किशोरी कूपोषित भएमा उसबाट जन्मने बच्चा पनि कम तौलको वा कुपोषित जन्मिन सक्छ, जसले परिवार, समाज र सिङ्गो राष्ट्रको विकासको लागि नराम्रो असर गर्छ । त्यसैले किशोरीको पोषण समुदायका लागि महत्वपूर्ण छ’’, उहाँ भन्नुहुन्छ, ‘‘किशोरीमा आइरनको कमीले हुने रक्तअल्पता भएमा शरीर पूर्णरुपमा वृद्धि नहुने, कमजोर वौद्धिक विकास हुने, न्यून शारीरिक क्षमता तथा कार्यसम्पादन र दैनिक कार्यमा कम एकाग्रता जस्ता समस्या देखिन्छन् ।’’

खड्का पोषणयुक्त खाद्यपदार्थबारे अभिभावकलाई समेत जानकारी दिन आवश्यक रहेको बताउनु भयो । ‘‘किशोरीमा रजश्वला हुने भएकाले बढी रगत बग्छ, उनीहरुलाई किशोरावस्थामा पोषणयुक्त खानेकुरा बढी चाहिन्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘हाम्रो समाजमा अझै छोरालाई मीठो खान दिने, छोरीलाई काम बढी लगाउने अभिभावक छन् ।’’

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...