Admission Open

ad place

विवादास्पद अभिव्यक्तिपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा


काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्।

मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास अभाव उद्योगीका कारण भएको भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनले ग्यास उद्योगीको ‘पाता नकसेसम्म’ अभाव सहज नहुने भन्दै देशमा सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गरी दुईवटा उद्योग मात्रै राख्नुपर्ने धारणा व्यक्त गरेकी थिइन्।

उनको अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए।

यसबीच काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव चर्किएको छ। उपभोक्ता ग्यासका लागि घण्टौं लाइन बस्न बाध्य छन् भने कतिपयले बजारमा तोकिएको मूल्यभन्दा बढी रकम तिर्नुपरेको गुनासो गरेका छन्। नेपाल आयल निगम र उद्योग मन्त्रालयले ग्यास आपूर्ति भइरहेको तथ्यांक सार्वजनिक गरे पनि बजारमा भने त्यसअनुसार सहज आपूर्ति हुन नसकेको उपभोक्ताको भनाइ छ।
#उद्योगमन्त्री गौरीकुमारी यादव

टिप्पणिहरु
Loading...