समाचारदाता, अमेरिका : ‘अपराध र सुधारु विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशित हुने भएको छ ।
विश्वमा देखापरेको आपराधिक गतिविधि र समाधानका विषयलाई कवितामा समेट्न लागिएको हो । मानिसले आफ्नो स्वार्थका लागि अपराधलाई माध्यम बनाउन थालेका छन् । यस्तो असामाजिक क्रियाकलापबाट समाजलाई खबरदारी गर्न तथा समाजमा जनचेतना जगाउन र सुधारका विकल्पहरु पहिल्याउन कवितालाई माध्यम बनाउने उदेश्यका साथ म्याडिसन कोठे गोष्ठी, अमेरिका र अनेसासको सहकार्यमा अपराध र सुधार विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशित गर्ने योजना बनाइएको हो ।
उक्त कार्य सम्पन्न गराउन तथा सङ्ग्रह प्रकाशित गर्न ‘अपराध र सुधार विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशन समिति’ गठन भएको छ । कविलाई सन्देशको संवाहक मानिन्छ, जसको सिर्जनाले समाजलाई सचेतमात्र गराउँदैन वास्तविकता पहिल्याउन प्रेरणा पनि दिने गर्दछ । यही उदेश्यका साथ यो कविता संग्रह प्रकाशित गर्ने योजना बनाइएको छ ।
आव्हान गरेर प्राप्त भएका कविताहरुलाई मूल्याङ्कन समितिका माध्यमबाट छनोट गरी संग्रहका रुपमा प्रकाशित गरेर समाजलाई सचेत गराउने र असामाजिक तत्वलाई खबरदारी गर्ने उदेश्यका साथ कविता आव्हान गरिएको छ ।
यसका लागि सर्जकले आफ्ना कविता विश्वका विभिन्न सहरहरुमा स्थापित अनेसासका च्याप्टरहरुमा वा सोझै समितिको ईमेल : aparadhsudhar21@gmail.com मा २०२१ अक्टुबर २० सम्ममा बुझाउनु पर्ने छ ।
उक्त कार्यका लागि डा. गोबिन्दसिंह रावत, (क्यानडा) को संयोजकत्वमा एकबहादुर क्षत्री, (मेडिसन, अमेरिका) उप–संयोजकसहित गोवर्द्धन पूजा, वरिष्ठ उपाध्यक्ष, (अनेसास, बोस्टन, अमेरिका) तथा सर्वज्ञ वाग्ले, (महासचिव, अनेसास, क्यालिफोर्निया, अमेरिका), दिनार श्रेष्ठ, (मेडिसन, अमेरिका), महेश्वर पन्त, (उत्तरअमेरिका संयोजक, एनआरएन भाषा साहित्य), निजानन्द मल्ल, (अनेसास, फ्लोरिडा, अमेरिका), सन्ध्या पहाडी, (अध्यक्ष, अनेसास नेपाल च्याप्टर) र रञ्जना निरौंला (अनेसास, नेपाल) सदस्यहरु रहेको समिति गठन गरिएको छ ।